कृषि उत्पादन र बजारीकरणमा जोड दिँदै काभ्रे

  ५ घण्टा अगाडि

बनेपा (काभ्रे), ५ असोज : काभ्रेपलाञ्चोकमा कृषि उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग, सिँचाइ विस्तार, व्यावसायिक खेती तथा उत्पादित कृषि उपजको बजारीकरणमा जोड दिइएको छ । कृषि विकास कार्यालय, काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति समीक्षा तथा चालु आव २०८३÷८४ को कार्यक्रम सार्वजनिक गर्दै उत्पादनसँगै प्रविधि, बजार, पूर्वाधार र कृषकको आम्दानी वृद्धिलाई प्राथमिकतामा राखिएको जनाएको हो ।

कार्यालयका अनुसार आव २०८२÷८३ मा जिल्लामा वर्षे धान १० हजार २१० हेक्टरमा खेती भई ३९ हजार ५१३ मेट्रिक टन उत्पादन भएको छ । त्यस्तै चैते धान ८५५ हेक्टरमा तीन हजार ८५० मेट्रिक टन, मकै २६ हजार १२० हेक्टरमा ९४ हजार १२० मेट्रिक टन र गहुँ आठ हजार २५० हेक्टरमा २३ हजार ९२५ मेट्रिक टन उत्पादन भएको छ । त्यसैगरी कोदो तीन हजार २५० हेक्टरमा चार हजार २२५ मेट्रिक टन, फापर ५९० हेक्टरमा ६०२ मेट्रिक टन, जौ ३४७ हेक्टरमा ३४१ मेट्रिक टन, आलु १० हजार १०० हेक्टरमा दुई लाख नौ हजार ७० मेट्रिक टन तथा तरकारी ११ हजार ३२५ हेक्टरमा एक लाख ९३ हजार ६५८ मेट्रिक टन उत्पादन भएको कार्यालयको तथ्याङ्क छ ।

फलफूलतर्फ कागती ६२२ हेक्टरमा चार हजार ९१४ मेट्रिक टन, सुन्तला एक हजार २६४ हेक्टरमा सात हजार ६८० मेट्रिक टन र किवी ८५ हेक्टरमा ५२७ मेट्रिक टन उत्पादन भएको छ। कफी २८५ हेक्टरमा ६२ मेट्रिक टन उत्पादन भएको कृषि विकास कार्यालयको वार्षिक समिक्षाले देखाएको छ । कार्यालयको खाद्यान्न वासलात अनुसार जिल्लामा विभिन्न खाद्यान्न बालीको कुल उत्पादन एक लाख ५८ हजार ५९१ मेट्रिक टन रहेको छ । प्रशोधन तथा अन्य प्रयोजनपछि खुद उपभोग्य खाद्यान्न ६२ हजार ३२० मेट्रिक टन रहेकोमा जिल्लाको वार्षिक आवश्यकता ७२ हजार ५९१ मेट्रिक टन रहेको छ । यस आधारमा जिल्लामा प्रशोधित खाद्यान्नतर्फ १० हजार २७० दशमलव २७ मेट्रिक टन अपुग देखिएको छ ।

बीउतर्फ पनि जिल्लामा केही प्रमुख बालीमा आवश्यकता र उत्पादन बीच अन्तर देखिएको छ । कार्यालयका अनुसार धानको आवश्यक बीउ ४७४ दशमलव ६ मेट्रिक टन रहेकामा उत्पादन ६६ मेट्रिक टन, गहुँको आवश्यकता ८२२ दशमलव ८ मेट्रिक टन रहेकामा उत्पादन चार मेट्रिक टन र मकैको आवश्यकता ५०६ दशमलव ७६ मेट्रिक टन रहेकामा उत्पादन १७ मेट्रिक टन छ । कोदो, फापर र जौको बीउ उत्पादन शून्य रहेको छ । आलुतर्फ भने एक हजार मेट्रिक टन बीउ उत्पादन भएकोमा आवश्यकता एक हजार १२ मेट्रिक टन रहेको छ । रासायनिक मलको माग तथा आपूर्तितर्फ युरिया सात हजार २७६ दशमलव ५५ मेट्रिक टन, डिएपी चार हजार ४४७ दशमलव ८५ मेट्रिक टन र पोटास ४५० दशमलव ७५ मेट्रिक टनको आपूर्ति भएको तथ्याङ्कले देखाएको छ ।

स्थानीय उत्पादनको बजारीकरणका लागि बनेपा र धुलिखेलमा साप्ताहिक हाटबजार सञ्चालन, महाभारत, खानीखोला र भुम्लुमा कफीका नर्सरी तथा नमुना बगैँचा स्थापना तथा पाँचखाल, बनेपा, पनौती र बेथानचोकमा संरक्षित संरचनामा तरकारी खेती विस्तार गरिएको छ । चालु आव २०८३÷८४ का लागि कृषि विकास कार्यालयले रु. पाँच करोड ५५ लाख ८६ हजारको कुल बजेटमध्ये कार्यक्रमतर्फ रु. तीन करोड ७५ लाख ६९ हजार विनियोजन गरिएको छ । चालु आवमा कृषि प्राविधिकका लागि जलवायु उत्थानशील तथा नवीनतम प्रविधिसम्बन्धी तालिम, विभिन्न बालीमा नवीनतम प्रविधि प्रदर्शन, आकस्मिक बाली संरक्षण सेवा, मेला, महोत्सव तथा दिवस सञ्चालन, स्मार्ट कृषि प्रविधि अवलम्बनमा सहयोग र कृषि यन्त्र तथा औजार मर्मतसम्बन्धी कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

प्रवर्द्धन तथा विकासतर्फ साना सिँचाइका २२ आयोजना सञ्चालनका लागि रु ५६ लाख विनियोजन गरिएको छ । त्यस्तै १० हेक्टरमा कफी प्रवर्द्धन तथा क्षेत्र विस्तारका लागि रु. २० लाख, २० हेक्टरमा व्यावसायिक तरकारी खेती प्रवर्द्धनका लागि रु ४० लाख, ३५ वटा मागमा आधारित जीविकोपार्जन कार्यक्रमका लागि रु ३५ लाख र पाँच वटा समुदायमा आधारित ‘एक वडा एक कृषि उत्पादन’ कार्यक्रमका लागि रु. एक करोड विनियोजन गरिएको छ ।

कार्यक्रमअन्तर्गत उन्नत बीउ तथा बिरुवा, सुरक्षित विषादी, कृषि चुन, नर्सरी तथा स्रोत केन्द्र स्थापना, प्लास्टिक घर, ग्रीन हाउस तथा सेमी हाइटेक संरचना निर्माण, बगैँचा व्यवस्थापन, साना तथा थोपा सिँचाइ, कृषि यान्त्रिकीकरण, सङ्कलन केन्द्र, भण्डारण तथा प्रशोधन, उत्पादनपछिको प्रविधि, बजारीकरण, माटो परीक्षण, कृषक तालिम तथा प्रदर्शन र बाली बीमालगायतका गतिविधिमा सहयोग गर्ने योजना रहेको छ । कार्यालयले कृषि उत्पादनमा देखिएका विभिन्न समस्याको पहिचान तथा व्यवस्थापनमा काम गरिरहेको जनाएको छ । धानमा ‘ड्राइ प्यानिकल’ समस्या, सुन्तला जात फलफूलमा फल झर्ने समस्या तथा मकैमा दाना नलाग्ने समस्या देखिएको कार्यालयको प्रगतिमा उल्लेख छ ।

गोलभेँडामा फ्युजारियम विल्ट, पिथ नेक्रोसिस तथा टोमेटो ब्राउन रुगोज फ्रुट भाइरस पहिचान गरी व्यवस्थापनका लागि समन्वय गरिएको छ । त्यस्तै केरामा ओइलाउने तथा मर्ने समस्या देखिएपछि नमूना परीक्षणबाट टिआर–१ भाइरस पहिचान गरिएको र व्यवस्थापनका लागि समन्वय गरिएको कार्यालयले जनाएको छ । कफीमा हाँगा सुक्ने, भाँचिने तथा बोट मर्ने समस्या देखिएपछि ह्वाइट बोरर तथा कफी रस्ट पहिचान गरी व्यवस्थापनका लागि समन्वय गरिएको छ । ‘एक वडा एक कृषि उत्पादन’ कार्यक्रम कार्यान्वयनमा भने लागत साझेदारीको रकम जम्मा गर्नुपर्ने व्यवस्था, स्थानीय तहको भूमिका तथा छनोट भएका कार्यक्रमको प्राविधिक उपयुक्तताबारे स्पष्टता आवश्यक रहेको कार्यालयले जनाएको छ ।

त्यस्तै स्वीकृत वार्षिक बजेटमा समस्या, कार्यक्रम तथा अख्तियारी ढिलो प्राप्त हुनु र बजेट रोक्का तथा कटौतीजस्ता कारणले कार्यक्रम कार्यान्वयनमा कठिनाइ हुने गरेको कार्यालयले जनाएको छ । कार्यालयले सम्बन्धित मन्त्रालय तथा निर्देशनालयमा पत्राचार गर्ने र प्राप्त बजेटअनुसार कार्यक्रम कार्यान्वयन गर्ने प्रयास गर्दै आएको जनाएको छ । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमले कृषि क्षेत्रका कार्यक्रम उत्पादन बढाउने मात्र नभई नागरिकको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउने गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

कृषि विकास कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले कृषि उत्पादनलाई आधुनिक प्रविधि, बजार र कृषकको आम्दानीसँग जोडेर अघि बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उत्पादन बढे पनि उचित बजार, भण्डारण, प्रशोधन तथा मूल्य प्राप्ति सुनिश्चित नभए कृषकले अपेक्षित लाभ लिन नसक्ने भएकाले उत्पादनदेखि बजारीकरणसम्मको मूल्य शृङ्खलामा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । कृषि उत्पादन वृद्धि, सिँचाइ, बीउ, प्रविधि, भण्डारण, प्रशोधन र बजारीकरणलाई एकीकृत रूपमा अघि बढाउनसके जिल्लाको कृषि क्षेत्रलाई थप व्यावसायिक बनाउन सकिने कार्यालयले जनाएको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया