म्याग्दी, १७ कात्तिक : म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानी र ताकम गाउँबाट देखिने गुर्जा हिमालको मनमोहक दृश्यसँगै हिमालको काखमा अवस्थित सुन्दर ग्रामीण बस्तीले पर्यटकको मन लोभ्याउँछ ।
मौसम खुलेसँगै टलक्क टल्किएको गुर्जा हिमाल र यसको काखमा अवस्थित धारापानी, ताकम, सिवाङ, मच्छिम र मुना गाउँको प्राकृतिक सौन्दर्यले पर्यटकलाई आकर्षित गर्दछ । मौलिक कला, संस्कृति र परम्परागत ग्रामीण जीवनशैलीले सजिएका यी गाउँले पर्यटकलाई थप आकर्षित गर्ने गरेका छन् ।

हिमालको काखमा अवस्थित ताकम गाउँ शान्त र मनोरम देखिन्छ । परम्परागत शैलीका घर, चिटिक्क परेको कालोपत्र सडक र कृषि खेतीले गाउँको सौन्दर्य थपेको छ । मौलिक ग्रामीण परिवेश र प्राकृतिक सुन्दरताले ताकम पुग्ने पर्यटकलाई आकर्षित गर्ने गरेको छ । ताकम गाउँलाई गुरिल्ला पदमार्ग र धवलागिरी चक्रिय पदमार्गको प्रवेशद्धारका रुपमा लिने गरिन्छ । मौसम सफा भएको समयमा यहाँबाट गुर्जा र चुरेन हिमाल आँखै अगाडी देखिन्छ ।

धारापानी, ताकम, मुना र मुदी हुँदै पर्यटकहरू धौलागिरि पदयात्रामा जाने गर्छन् । भने ताकम,मुना,लुलाङ,गुर्जा गाउँ देखि गुर्जा हिमालको पदयात्राका लागि पनि पर्यटकहरु जाने गर्दछन् । मनमोहक दृश्यसँगै ग्रामीण क्षेत्रको मौलिक जीवनशैली र संस्कृति अवलोकन गर्न पाइन्छ । विभिन्न जातजाति तथा समुदायको परम्परा, प्राकृतिक सम्पदा र ग्रामीण परिवेश यस पदमार्गका प्रमुख आकर्षण हुन् ।

बेनी–दरबाङ–मुना सडक हुँदै करिब दुई घण्टाको सवारी यात्रापछि ताकम गाउँ पुग्न सकिन्छ । सहज सडक पहुँचसँगै गुर्जा हिमालको मनमोहक दृश्य, परम्परागत घरबस्ती र मौलिक कला तथा संस्कृतिको अवलोकन गर्न आन्तरिक पर्यटकसमेत ताकम पुग्ने गरेका छन् । प्राकृतिक सौन्दर्य र ग्रामीण जीवनशैलीको अनुभव लिन चाहने पर्यटकका लागि ताकम लगायतका यस क्षेत्रका गाउँहरु उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने गोरखापत्र अनलाइनमा उल्लेख छ ।









