गुल्मीको रुद्रबेणी–बुर्तिवाङ सडक एकतर्फी सञ्चालनमा

  ६ घण्टा अगाडि

गुल्मी, १७ कात्तिक : पहिरो गएपछि सोमबारदेखि अवरुद्ध बनेको गुल्मीको रुद्रबेणी–बुर्तिवाङ सडकखण्ड एकतर्फीरुपमा सञ्चालनमा आएको छ । 

सत्यवती गाउँपालिका‐४ स्थित खैरेनी नजिकै बादरेभीरमा सडक माथिबाट लेदो सहित ठूलो चट्टान खसेपछि सोमबार अपरान्हदेखि उक्त सडक पूर्णरूपमा अवरुद्ध बनेको थियो । सडकमा ठुलो चट्टान खसेका कारण एक्साभेटरको सहायताले तत्कालका लागि उक्त चट्टानको केही भाग फुटाएर यातायात सञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो ।

अवरुद्ध सडक सुचारु गर्न सडक डिभिजन कार्यालय र सत्यवती गाउँपालिकाले दिनभर प्रयास गरेका थिए । सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डले आज बिहानैदेखि पहिरो गएको स्थानमा जेसिभी र ब्रेकर परिचालन गरी चट्टान फुटालेपछि एकतर्फी भएपनि सडक सुचारु गरिएको बताउनुभयो ।

चाडपर्वको समयमा मुख्य सडक अवरुद्ध हुँदा अलपत्र परेका त्यस क्षेत्रका यात्रु आज बेलुकीदेखि आआफ्नो गन्तव्यतिर लागेका छन् । गुल्मीको रुद्रबेणी हुँदै बाग्लुङको बुर्तिवाङ जोड्ने उक्त सडक यस क्षेत्रको अति व्यस्त सडकखण्डअन्तर्गत पर्दछ ।  (रासस)

तपाईको प्रतिक्रिया