काठमाडौंमा मंसिर १२ गते AWS Student Community Day आयोजना हुँदै

  १ घण्टा अगाडि

काठमाडौं, कात्तिक १७। विद्यार्थी तथा प्रविधिमा रुचि राख्ने युवालाई सूचना प्रविधि क्षेत्रका विज्ञ र व्यावसायिक व्यक्तित्वसँग जोड्ने उद्देश्यले आगामी मंसिर १२ गते काठमाडौंमा AWS Student Community Day Kathmandu 2026 आयोजना हुने भएको छ। Lord Buddha Education Foundation (LBEF) अन्तर्गतको AWS Student Builder Group at LBEF को आयोजनामा हुने उक्त कार्यक्रम मैतीदेवीस्थित एलबीईएफ कलेजमा सञ्चालन हुनेछ।

विद्यार्थीको नेतृत्वमा आयोजना हुने Student Community Day (SCD) विद्यार्थी, प्रविधिप्रेमी तथा सूचना प्रविधि क्षेत्रका व्यक्तिहरूबीच ज्ञान, अनुभव र विचार आदानप्रदान गर्ने साझा मञ्च हो। यसले विद्यार्थीलाई उद्योग क्षेत्रका अनुभवी व्यक्तिहरूसँग प्रत्यक्ष संवाद गर्ने, प्रविधिका नयाँ विकासक्रमबारे जानकारी लिने र आफ्नो शैक्षिक तथा व्यावसायिक यात्राका सम्भावना पहिचान गर्ने अवसर प्रदान गर्छ। विशेषगरी विद्यार्थीलाई कक्षाकोठाको सिकाइसँगै व्यावहारिक ज्ञान र उद्योग क्षेत्रको अनुभवसँग जोड्नु यस कार्यक्रमको प्रमुख उद्देश्य हो।

नेपालमा विगत दुई वर्षदेखि आयोजना हुँदै आएको AWS Student Community Day ले विद्यार्थी तथा प्रविधि क्षेत्रका व्यक्तिहरूबीच क्लाउड प्रविधि, नवप्रवर्तन र सहकार्यलाई प्रोत्साहन गर्दै आएको छ। सोही पहललाई निरन्तरता दिँदै यस वर्ष काठमाडौंमा कार्यक्रम आयोजना गर्न लागिएको हो। यस संस्करणले विद्यार्थी र प्रविधि क्षेत्रका विज्ञबीचको अन्तरक्रियालाई थप विस्तार गर्नुका साथै प्रविधिमा रुचि राख्ने युवालाई नयाँ ज्ञान र अवसरसँग जोड्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा क्लाउड प्रविधि, साइबर सुरक्षा, सफ्टवेयर विकास तथा सञ्चालन, कम्प्युटर सञ्जाल, कृत्रिम बुद्धिमत्ता, यन्त्र सिकाइ र रोबोटिक्सलगायतका विषयमा छलफल तथा जानकारीमूलक सत्र सञ्चालन गरिनेछ। पछिल्लो समय शिक्षा, व्यवसाय तथा विभिन्न सेवा क्षेत्रमा विस्तार हुँदै गएको क्लाउड प्रविधिले डिजिटल सेवा सञ्चालन र तथ्याङ्क व्यवस्थापनलाई सहज बनाएको छ। यससँगै कृत्रिम बुद्धिमत्ता र रोबोटिक्सजस्ता प्रविधिले पनि विश्वव्यापी रूपमा नयाँ सम्भावना सिर्जना गरिरहेका छन्। कार्यक्रममा यस्ता प्रविधिको प्रयोग, विकास र सूचना प्रविधि क्षेत्रमा तिनको बढ्दो महत्त्वबारे जानकारी आदानप्रदान गरिनेछ।

आयोजकका अनुसार कार्यक्रममा सहभागी हुन कुनै शुल्क लाग्ने छैन। तर, सिट संख्या सीमित रहेकाले इच्छुक व्यक्तिले अनलाइनमार्फत प्रारम्भिक दर्ता (RSVP) गर्नुपर्नेछ। प्रारम्भिक दर्तापछि सहभागीले इमेलमार्फत पुष्टि सन्देश र दर्ता फाराम प्राप्त गर्नेछन्। उक्त फाराम पूरा गरेपछि कार्यक्रमअघि इमेलमार्फत प्रवेश टिकट उपलब्ध गराइनेछ। कार्यक्रमका वक्ता, सत्र तथा अन्य गतिविधिसम्बन्धी थप विवरण आगामी दिनमा सार्वजनिक गरिने आयोजकले जनाएको छ।

कार्यक्रम मैतीदेवी मन्दिरको ठीक अगाडि रहेको Lord Buddha Education Foundation (LBEF) कलेज, काठमाडौंमा आयोजना हुनेछ। कार्यक्रमसम्बन्धी थप जानकारी तथा दर्ताका लागि आयोजकको आधिकारिक वेबसाइट https://awslbef.com/ मा जान सकिनेछ।

तपाईको प्रतिक्रिया