‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ सम्पन्न गरी खट थन्क्याइयो

  ९ घण्टा अगाडि

काठमाडौँ, २४ असोज : काठमाडौँ महानगरपालिका-५ स्थित हाँडीगाउँ क्षेत्रमा ‘कहीँ नभएको जात्रा’ सम्पन्न गरी खट यथास्थानमा राखिएको गुठी संस्थान काठमाडौँ शाखाले जनाएको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण प्रतिपदादेखि तृतीयासम्म यस क्षेत्रमा चोक्काथुनारायणको जात्रासमेत भनिने कहीँ नभएको हाँडीगाउँको जात्रा हुने गरेको हो ।

यो जात्राका सबै काम सकेर आज सबै खटलाई यथास्थानमा राखिएको गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख लक्षुणा शर्माले राससलाई जानकारी दिनुभयो । बुधबारदेखि सुरु भएको जात्रा आज सम्पन्न भएको हो । यो जात्रा हेर्न हाँडीगाउँ क्षेत्रमा दर्शकको घुइँचो लाग्ने गर्दछ ।

प्रत्येक वर्ष कोजाग्रत पूर्णिमापछि गरिने यो जात्रा यस क्षेत्रको प्राचीन मौलिक संस्कृतिका रूपमा मानिँदै आइएको उहाँले बताउनुभयो । यो जात्रालाई तीननारायण एवं ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ समेत भनिन्छ । देशका अन्य स्थानमा हुने जात्रा खटको गजुर उल्टो नपारी गरिने र यहाँको नारायण जात्रा भने उल्टो पारेर गरिने भएकाले कहीँ नभएको जात्रा भन्ने गरिएको हो ।

चोकेटनारायणसमेत भनिने चोक्काथुनारायणको नाममा गुठी जग्गासमेत राखी जात्रा चलाउने व्यवस्था गरिएको थियो । गुठी संस्थानको लगतमा चोक्काथुनारायण एवं तीननारायणका नाममा गुठी जग्गा राखिएको उल्लेख छ ।

मन्दिरको ढोकामा रहेको नेवारी भाषाको अभिलेखअनुसार राजा नरेन्द्र मल्लको पालादेखि यो जात्रा सुरु भएको हो । चोक्काथुनारायणको मन्दिर बूढानीलकण्ठबाट ल्याई यहाँ स्थापना गरिएको ‘हाँडीगाउँः एक परिक्रमा’ पुस्तकका लेखक एवं यस क्षेत्रको सांस्कृतिक परम्पराका बारेमा अध्ययन गरिरहनुभएका यज्ञनाथ आचार्यले राससलाई जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया