तेह्र लाखभन्दा बढी नगदसहित १४ जना पक्राउ

  १० घण्टा अगाडि

काठमाडौँ, २३ असोज : नेपालगन्ज उपमहानगरपालिका –४ बाईपास रोडमा विज्ञान श्रेष्ठले सञ्चालन गरेको मौरी रेस्टुरेन्टबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १४ जनालाई १३ लाख रुपियाँभन्दा बढी नगदसहित नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारीअनुसार रेस्टुरेन्टको दोस्रो तलामा रहेका हल कोठामा तास खेलिरहेको अवस्थामा १४ जनालाई पक्राउ गरिएको हो । छापा मार्ने क्रममा प्रहरीले जुवातास खेल्न प्रयोग भएका दुई गड्डी खोलिएका र आठ गड्डी नखोलिएका तास, रातो र सेतो रङका पर्दा दुई थान तथा नगद १३ लाख ६३ हजार ८०० रुपियाँ बरामद गरेको प्रहरीले जनाएको छ । 

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीको निर्देशनमा खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा बुधबार राति करिब साढे १२ बजे उक्त रेस्टुरेन्टमा छापा मारेको थियो । 

पक्राउ परेकाहरुमा विज्ञान श्रेष्ठ, गणेश बस्नेत, सेताज अन्सारी, ऋषि गुप्ता, तरुण गौतम, विनोद खड्का, मोहम्मद सफिक बेहना, रमेश शाही, संगम शाह  छन् । सोही प्रकारले मधुसूदन दाहाल, मेघराज गौतम, रमेश शाही, भागीरथ यादव, नन्दलाल यादव र सुमन केसीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दीपक पातलीले बताउनुभयो । 

उहाँका अनुसार पक्राउ परेकाहरू बाँकेको विभिन्न स्थानीय तहका बासिन्दा हुन् । उनीहरूविरुद्ध प्रचलित कानुनअनुसार मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरी प्रवक्ता पातलीले बताउनुभयो । उहाँले भन्नुभयो, “जुवा तास खेल्ने कार्य सामाजिक अपराध अन्तर्गत पर्ने भएकाले यसलाई नियन्त्रणमा ल्याउन प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ ।”

प्रहरी नायब उपरीक्षक पातलीका अनुसार पछिल्लो समय नेपालगन्जका रेस्टुरेन्ट, होटल र निजी घरहरूमा जुवातास खेल्ने प्रवृत्ति बढ्दैगएको कारण प्रहरीले अनुगमन र निगरानीलाई अझ कडाइका साथ अघि बढाएको छ ।

प्रहरीले सामाजिक अनुशासन, शान्ति–सुरक्षा र सद्भाव कायम राख्न नागरिकलाई यस्ता अवैध क्रियाकलापबाट टाढा रहन र जानकारी भएमा तुरुन्त सूचित गर्न आग्रह गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

तपाईको प्रतिक्रिया