विपन्न बालबालिकालाई पोषण तथा शैक्षिक सामग्री सहयोग

  १९ घण्टा अगाडि

रामपुर (पाल्पा), २ असार : पाल्पाको रामपुर नगरपालिकाकाले बालबालिकालाई पोषण तथा सहायक शैक्षिक सामग्री प्रदान गरेको छ । शारीरिक तथा मानसिक समस्यामा रहेका, दीर्घरोगी, पारिवारिक लगायतका विभिन्न समस्यासँग जुँधिरहेका बालबालिकालाई पोषणयुक्त आहार, पठनपाठनका लागि सहायक सामग्री सहयोग गरिएको छ ।

यहाँका छजना बालबालिकालाई राहतस्वरुप आपतकालीन बालउद्धार कोषमार्फत पोषण सामग्री र पठनपाठनका लागि सहायक सामग्री प्रदान गरिएको महिला तथा बालबालिका शाखा प्रमुख पूजा परियारले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाले दृष्टिविहीन पृथ्वीनारायण क्याम्पस पोखरामा स्नातक तेस्रो वर्षमा अध्ययनरत रामपुर–६ का विपना खनाललाई ल्यापटप सहयोग गरेको छ ।

नगरपालिकाले पारिवारिक समस्या, अनाथ बालबालिका, मानसिक तथा दीर्घ रोगबाट ग्रसितलगायत विभिन्न समस्या भोगिरहेका बालबालिका, जेहेन्दार, आर्थिक अवस्था कमजोर भएकालाई राहतका सामग्री तथा छात्रवृत्ति रकमसमेत उपलब्ध गराउँदै आइरहेको नगर प्रमुख रमणबहादुर थापाले जानकारी दिनुभयो । नगरपालिकाले विद्यालय तथा उच्च शिक्षा अध्ययनका लागि नगर सरकारले मेयर छात्रवृत्ति कार्यक्रममार्फत रकम उपलब्ध गराइरहेको छ ।

तपाईको प्रतिक्रिया