सैलुङमा कविता यात्रा सम्पन्न, ‘स्रष्टा घर’ बनाइने

  पुष ०७, २०८०

दोलखा, ७ पुस : दोलखाको सैलुङमा आयोजना गरिएको सैलुुङ सांस्कृतिक पर्यटनका लागि कविता यात्रा सम्पन्न भएको छ । वरिष्ठ कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यतामा कविता यात्रासँगै ‘स्रष्टा घर’ शिल्यानास कार्यक्रम सम्पन्न भएको छ ।

साहित्यिक पत्रकार सङ्घको आयोजना तथा संयोजन एसएस फाउन्डेसन काठमाडाँै–८ सैलुुङ र समाजसेवी शोभित उप्रेतीको सहयोगमा आयोजना गरिएको कविता यात्रामा कलाकार तथा साहित्यकारको सहभागिता रहेको थियो । श्रीबाबु कार्की, नरेन्द्रबहादुर श्रेष्ठ, प्रमोद प्रधान, गायिका ऋतुु कँडेललगायत सहभागी थिए । यही पुस ४ देखि ६ गतेसम्म भएको उक्त कार्यक्रममा साहित्यकारहरुले सैलुुङको थुम्कामा उपस्थित भई आ–आफ्ना सिर्जना वाचन गरेका थिए ।

साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा ‘सैलुुङ स्रष्टा घर’समेत शिलान्यास गरिएको छ । समाजसेवी उप्रेतीले साहित्यकारहरुको सम्मानमा लाखौँ मूल्यको जग्गा भवन बनाउन उपलब्ध गराउनुभएको हो । सैलुुङको कालापानीमा शिलान्यास गरिएको उक्त भवन निर्माणपछि साहित्यकारका लागि उत्कृष्ट गन्तव्य हुने समाजसेवी उप्रतीले बताउनुभयो ।

सैलुुङको डाँडामा बसेर साहित्यिक विधाको अध्ययन अवलोकनसँगै साहित्य सिर्जना गर्न सहज हुने वरिष्ठ कलाकार श्रेष्ठको भनाइ छ । सैलुुङको पर्यटन विकासमा स्रष्टा घरबाट मद्दत पुग्ने उहाँ बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया