कञ्चनपुर, १६ भदौ : शुक्लाफाँटा नगरपालिका–८ स्थित पर्यटकीय क्षेत्र धारापानी पुग्ने पदमार्गमा पहिरो जाँदा पर्यटकले सास्ती खेप्नुपरेको छ । चार महिनाअघि निर्माण पूरा भएको पदमार्गको ठाउँ–ठाउँमा पहिरो गएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रु छ लाख ५० हजारको लागतमा छनोटमा परेका १५ जना बेरोजगार व्यक्तिलाई परिचालन गरी एक हजार पाँच सय मिटर पदमार्ग निर्माण गरिएको थियो । पदमार्गमा माटो समस्याउने कार्यसँगै ढुङ्गा बिछ्याउने कार्य गरिएको थियो । पहिराले पदमार्गको ८० प्रतिशत क्षेत्र तहसनहस पारेको स्थानीय बासिन्दा साइमले धामीले बताउनुभयो ।
“पदमार्ग हुँदै सहजरूपमा पर्यटक पुग्ने गरेका थिए”, उहाँले भन्नुभयो, “हाल पदमार्गमा पहिरो जाँदा थोरैमात्रै पर्यटक आइपुग्ने गरेका छन् ।” पर्यटक नआउँदा व्यापार–व्यवसाय ठप्प रहेको उहाँले जानकारी दिनुभयो । पहिराले गर्दा पर्यटकीय क्षेत्र धारापानी, बतासे झर्ना, दन्तेगुफालगायतको क्षेत्रमा पुग्नै नसकिने अवस्था रहेको रमेश धामीले बताउनुभयो ।
पदमार्ग निर्माण भएको क्षेत्रमा विगतका वर्षहरूमा सडक निर्माण गर्नका लागि ट्रयाक खोलिए पनि निरन्तर पहिरो जाने र पानी चुहिने हुँदा निर्माणकार्य अगाडि बढाउन सकिएको थिएन । ट्रयाक खोलिएकै सडकलाई पदमार्गका रूपमा परिणत गरिएको वडाध्यक्ष बहादुरसिंह महराले बताउनुभयो ।
“पर्यटकलाई गन्तव्यमा सहजरूपमा पुग्नका लागि पदमार्ग निर्माणको कार्य गरेका थियौँ”, उहाँले भन्नुभयो, “पहिरोले पदमार्ग भत्काउँदा निकै तनावमा छौँ, थोरै बजेटले पहिरो रोकथाम गर्न सकिँदैन, पानी सिपेज हुने क्षेत्रमा टेवा पर्खाल बनाउन सकिए पहिरो रोकथाम गर्न सकिन्छ, त्यसका लागि ठूलै बजेट चाहिन्छ ।”
“पदमार्ग निर्माण भएपछि ढुक्कसँग गाउँसम्म पुग्न सकिने भएको थियो”, रायभान ठगुन्नाले भन्नुभयो, “पहिराले पदमार्ग नै लगेपछि दैनिक चाहिने सामान खरिद गर्न पनि सास्ती खेप्नुपरेको छ, धारापानी गाउँसम्म पुग्ने बाटो भनेको त्यही पदमार्ग थियो, त्यो नै पूरै भत्किएपछि जोखिम मोलेर ओहरदोहर गर्दै आएका छौँ ।”
दैनिक उपभोग्य सामान ल्याउन पनि निकै समस्या रहेको उहाँले बताउनुभयो । बालबालिकालाई विद्यालय पुर्याउन नसकेर घरमै बस्दै आएको उहाँको भनाइ छ । धारापनी क्षेत्रमा तराईको गर्मी छल्नका लागि, चिसो पानीमा नुहाउनका लागि पर्यटक यस क्षेत्रमा पुग्ने गर्दछन् । दैनिक यस क्षेत्रमा सयदेखि दुई सयको हाराहारीमा पर्यटक पुग्ने गरेको स्थानीयवासीको भनाइ छ ।
धारापानी क्षेत्रसँगै उत्तरतर्फको तीन किलोमिटरको क्षेत्रमा रहेको बतासे झरनाको मनोरम दृश्य नियाल्न र झरनामा नुहाउनका लागि पर्यटक आउने गरेका छन् । वडा कार्यालयको तर्फबाट वनभोजस्थल चौतारामा निर्माण गरिएको छ । हाल पदमार्ग पहिराले क्षतविक्षत भएपछि यस क्षेत्रमा नगन्य मात्रामा मात्रै पर्यटक आउने गरेका छन् ।