चितवन, ७ कात्तिक : नेपाल र भारतबीच पर्यटन साझेदारी विस्तार गर्ने उद्देश्यले कात्तिक ९ देखि ११ गतेसम्म ‘नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ कार्यक्रम आयोजना हुने भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) र समृद्ध चितवन अभियानको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । ‘सीमा जोड्दै, मित्रता बढाउँदै पर्यटन प्रवर्द्धन गर्दै’ भन्ने नारासहित आयोजना हुने कार्यक्रमले भारतीय पर्यटन बजारमा नेपालको प्रवर्द्धन गर्नुका साथै दुवै देशका पर्यटन व्यवसायीबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध स्थापित गर्ने लक्ष्य राखेको छ ।
कार्यक्रमका संयोजक एवं एनआरएनए आइसिसीका प्रवक्ता सोमनाथ सापकोटाका अनुसार नेपाली पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रिय पर्यटन सञ्जालसँग जोड्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।
“यस कार्यक्रमको मुख्य उद्देश्य भारतीय पर्यटन बजारमा नेपालको प्रभावकारी प्रवर्द्धन गर्नु, नेपाली र भारतीय पर्यटन व्यवसायीबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध स्थापित गर्नु तथा नेपालका पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रिय पर्यटन सञ्जालसँग जोड्नु हो,” सापकोटाले भन्नुभयो ।
भारतीय पर्यटकलाई नेपालका धार्मिक, आध्यात्मिक, सांस्कृतिक, प्राकृतिक, वन्यजन्तु तथा साहसिक पर्यटन गन्तव्यसँग जोड्न सके पर्यटन क्षेत्रमा ठूलो सम्भावना सिर्जना गर्न सकिने उहाँको भनाइ छ । त्यसका लागि भारतीय पर्यटन व्यवसायीलाई नेपाली गन्तव्यको प्रत्यक्ष भ्रमण गराउने, होटल तथा रिसोर्ट सञ्चालकसँग भेटघाट गराउने र सेवा तथा सुविधाबारे जानकारी दिँदै व्यावसायिक साझेदारीका आधार तयार गर्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा भारतका विभिन्न सहरका २१ जना पर्यटन व्यवसायी तथा प्रतिनिधि सहभागी हुने जनाइएको छ । उनीहरूले नेपाली पर्यटन व्यवसायी, होटल तथा रिसोर्ट सञ्चालक र स्थानीय पर्यटन सरोकारवालासँग प्रत्यक्ष भेटघाट तथा व्यावसायिक छलफल गर्नेछन् । कार्यक्रममा व्यावसायिक भेटघाट, परिचयात्मक भ्रमण, पर्यटन प्याकेज निर्माण र आगामी दिनमा पर्यटक आवागमन बढाउने सम्भावनाबारे छलफल हुनेछ ।
लुम्बिनी, रामग्राम, देवघाट, नवलपुर र चितवनलाई एउटै पर्यटन सर्किटमा जोड्ने लक्ष्यसमेत राखिएको छ । भरतपुर महानगरपालिका, कपिलवस्तु नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका र रामग्राम नगरपालिकालगायत क्षेत्रलाई पर्यटन सञ्जालमा आबद्ध गर्दै क्षेत्रीय पर्यटन सहकार्य विस्तार गर्न सकिने सापकोटाले बताउनुभएको राससमा उल्लेख छ ।






