मुस्ताङ, ६ कात्तिक : लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास पार गरेर पछिल्लो दुई सातामा ७७२ विदेशी पर्यटक मुस्ताङ पुगेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय मुस्ताङको जोमसोमस्थित चेकपोस्टका अनुसार तीमध्ये ४३ जना सार्क राष्ट्रका र ७२९ जना अन्य राष्ट्रका पर्यटक छन् ।
समुद्री सतहबाट पाँच हजार ४१६ मिटर उचाइमा रहेको थोरङला पास राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख आकर्षण हो । असोज ११ गतेको भारी वर्षा र हिमपातका कारण अवरुद्ध बनेको पदमार्गको हिउँ पन्छाएपछि पर्यटकको आवागमन पुनः सुरु भएको हो । मनाङ र मुस्ताङतर्फका सुरक्षाकर्मी तथा पर्यटन व्यवसायीले हिउँ हटाएर बाटो सहज बनाएका थिए ।
एक्याप जोमसोमका प्राकृतिक स्रोत संरक्षण सहायक सञ्जोग थकालीका अनुसार बिहीबारसम्म ७७२ विदेशी पर्यटक थोरङला पास हुँदै मुस्ताङ आइपुगेका छन् । मुक्तिनाथ होटल एसोसिएसनका अध्यक्ष सुरज गुरुङले पदयात्राको याम सुरु भएसँगै मनाङबाट मुस्ताङ आउने पर्यटकको सङ्ख्या बढिरहेको बताउनुभयो ।
थोरङला पास हुँदै दैनिक एक सयभन्दा बढी पर्यटक मुक्तिनाथ पुग्ने गरेको अध्यक्ष गुरुङको भनाइ छ । बेनी–जोमसोम सडकमार्गबाट आउने पर्यटक घटे पनि पदयात्री बढेपछि मुक्तिनाथ क्षेत्रका अधिकांश होटलमा पर्यटकको चहलपहल बढेको उहाँले बताउनुभयो । उहाँका अनुसार नोभेम्बरको अन्त्यसम्म मनाङबाट थोरङला पास हुँदै विदेशी पर्यटक मुस्ताङ आउने याम हो ।






