प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताउनुभएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका(५ चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको समुद्घाटनमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्रीले भन्नुभयो, “जुगल गाउँपालिकाका आदरणीय जनसमुदायका लागि यो कार्यक्रम खुसी र गौरवको कुरा हो । विद्यालय निर्माणका निम्ति मेरो भूमिका छ । म नेपाल सरकार एवं मेरोतर्फबाट चीन सरकार र चिनियाँ जनतालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।”
विनाशकारी भूकम्पपछिको पुनःनिर्माणमा चीन सरकारले विद्यालयका साथै अन्य धेरै क्षेत्रमा सहयोग गरेको उहाँले स्मरण गर्नुभयो । चीन सरकारलेल भौतिक पूर्वाधार र शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण काम गरेको उहाँको भनाइ छ । नेपाली जनताको समृद्धि र सुशासनको आकाङ्क्षामा चीन सरकारको निरन्तर सहयोग रहने अपेक्षा रहेको उहाँले बताउनुभयो ।
“सिन्धुपाल्चोकका जनताका पीडामा सहभागी हुने अवसर मिल्दै आएको छ । दुःख र सुखीमा म तपार्इंहरूको साथमा छु”, प्रधानमन्त्रीले अगाडि भन्नुभयो, “जुरेको पहिरो, भूकम्पपछिको पुनःनिर्माण, मेलम्चीको विनाश लगायतका सबै पीडामा तपाईंहरुसँग ऐक्यबद्ध भएर काम गर्न पाउँदा खुसीको महसुस गरेको छ ।”
उहाँले मुलुकको अर्थतन्त्रमा केही गम्भीर समस्या भएको भन्दै मन्त्रिपरिषद्को पहिलो बैठकबाटै अर्थतन्त्रमा सुधार गर्ने अठोट लिएको बताउनुभयो । “निजी क्षेत्र र सरकारको सहकार्यमा अर्थतन्त्र उकास्ने अठोट गरेको छु । बैंक र व्यवसायीबीच सहकार्यको स्थिति सिर्जना भएको छ । अर्थतन्त्रमा सुधार आउने आधार देखिएका छन् । अर्थतन्त्रले क्रमशः विकासको गति लिनेछ”, उहाँले विश्वास व्यक्त गर्नुभयो ।