स्याङ्जामा पढ्दै कमाउँदै प्रभावकारी

  माघ १९, २०७९

स्याङ्जाको बज्रे भञ्ज्याङ माध्यमिक विद्यालयले सञ्चालनमा ल्याएको ‘पढ्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । गल्याङ नगरपालिका–११ बज्रेस्थित उक्त विद्यालयले अध्ययनसँगै श्रम र सीप विस्तार गर्नेगरी सञ्चालन गरेको उक्त कार्यक्रमअन्र्तगत कक्षा ६ देखि १० सम्मका विद्यार्थीको सक्रियतामा मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएको छ ।

‘एक शैक्षिक संस्था एक उद्यम कार्यक्रम’अन्तर्गत ६७ विद्यार्थी प्रयोगात्मक सिकाइका लागि तरकारी बारीमा खटिने गरेका कक्षा १० मा अध्ययनरत अङ्कित नेपालीले बताउनुभयो । विद्यालयमा पढाई हुने विषयमा सैद्धान्तिक ज्ञान लिने गरिन्छ तर कृषि विषय यस विद्यालयमा नभए पनि प्रयोगात्मक ज्ञान लिने अवसर मिलेकामा निकै खुसी भएको उहाँले बताउनुभयो ।
“साथीहरुसँग समूहमा रहेर प्रयोगात्मकरूपमा तरकारी उत्पादन गर्दा नभुलिने गरी शिक्षा प्राप्त भएको छ”, अङ्कितले भन्नुभयो, “विद्यालयका गुरु तथा कृषि प्राविधिकको प्रत्यक्ष निगरानीमा हामी आफँै काम गर्छौं, उत्पादन गर्छौं र त्यसको बजारीकरण पनि गर्छौं ।”

यहाँ उत्पादन भएको विभिन्न तरकारीका बेर्ना र उत्पादित तरकारी बिक्री गरेर आम्दानी भएको रकम विद्यार्थीकै कोषमा आउने गरेकाले काम गर्न थप ऊर्जा र उत्साह मिलेको उहाँको भनाइ थियो ।

उक्त कार्यक्रम सञ्चालनका लागि गत वर्ष नेपाल सरकारबाट प्राप्त हुने अनुदानका लागि विद्यालयले प्रस्ताव पेस गरेकामा छनोटमा परेपछि गत साउनदेखि यो कार्यक्रम सञ्चालनमा आएको विद्यालयका प्रधानाध्यापक नेत्रप्रसाद गैरेले बताउनुभयो ।

उक्त कार्यक्रमका लागि रु १० लाख बजेट प्राप्त भएको थियो । विद्यालय नजिकै जग्गा भाडामा लिएर सात वटा प्लाष्टिकका टनेल निर्माण गरी विभिन्न जातका तरकारी उत्पादन हँुदै आएको छ । “विद्यार्थीको सामूहिक सक्रियतामा सञ्चालनमा रहेको यो कार्यक्रम उदाहरणीय बन्न पुगेको छ”, उहाँले भन्नुभयो, “विद्यार्थी उत्साहित भएर बेर्ना राख्ने, उमार्ने, लगाउने र बजारीकरणसम्मका काम गर्छन् ।”

तपाईको प्रतिक्रिया