पुस्तकालय प्राथमिकतामा नपरेको चिन्ता

  पुष १०, २०७९

गण्डकी, पुस १० :पोखरामा जारी नेपाल लिट्रेचर फेस्टिबलको ‘पुस्तक र पुस्तकालय’ शीर्षकको सत्रमा वक्ताले पुस्तकालय अझै पनि राज्यको प्राथमिकतामा नपरेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

लाइब्रेरियन इन्दिरा दली, बाल साहित्य लेखक अनुराधा र पुस्तक पारखी जसना गुरुङसँग पत्रकार विमल आचार्यले गर्नुभएको छलफलमा चेतनाको स्तर बढाउन पठनसंस्कृति र पुस्तकालयको विशिष्ट योगदान हुने भए पनि पुस्तकालय प्राथमिकतामा पर्न नसकेकोमा चिन्ता व्यक्त गरियो । लाइब्रेरियन दलीले नेपालमा पठन संस्कृतिको विकास नभएको र यसप्रति राज्य गम्भीर बन्न नसकेको बताउनुभयो ।

भूकम्पपछि राष्ट्रिय पुस्तकालय बनाउनका लागि पटक–पटक मन्त्रालय धाउँदा पनि निराश हुनुपरेको अनुभव उहाँले सुनाउनुभयो । नेपालमा सामुदायिक पुस्तकालयको प्रणाली विकास नभएको भन्दै उहाँले सञ्चालित पुस्तकालय राज्यले बजेट दिएर नभई समुदायको सक्रियतामा खुलेको बताउनुभयो ।

अर्का वक्ता गुरुङले बजारमा पुस्तक अत्यधिक महँगो भएका कारण पनि पुस्तकालय स्थापना हुनुपर्ने आवश्यकता आँैल्याउनुभयो । आफूले तलबको केही निश्चित रकम पुस्तक किन्नका लागि छुट्याउने गरेको उहाँले अनुभव सुनाउनुभयो ।

बाल साहित्य लेखक अनुराधाले हाम्रो समाज, शिक्षा प्रणालीले घोक्ने, रट्ने विद्यालाई मात्रै महत्त्व दिएको बताउनुभयो । पछिल्लो समयमा विद्यालयले पनि कथाका पुस्तकलाई पाठ्यक्रममा राखेर पढाइरहेको भन्दै उहाँले बाल साहित्यलाई भिटामिनका रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया