औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

  ५ घण्टा अगाडि

कास्की, ७ कात्तिक : पोखरामा औषधि पसलको आवरणमा प्रतिबन्धित लागुऔषध कारोबार हुने गरेको पाइएको छ । पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलकी सञ्चालिका २९ वर्षीया अमिसा ढुङ्गानालाई प्रहरीले लागुऔषधका चक्कीसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार बुधबार लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले औषधि पसलमा जाँच गरेको थियो । सो क्रममा सञ्चालिकाको साथबाट चार प्रकारका लागुऔषध बरामद गरिएको थियो ।

प्रहरीका अनुसार ढुङ्गानाको साथबाट कोडिप–पी (कोडिन) ६ हजार ४०० चक्की, प्रेगाबालिन ४५० चक्की, लोराजेपाम १५० चक्की र क्लोर्डियाजेपोक्साइड १६० चक्की बरामद गरिएको छ ।

“लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा फार्मेसीमा छापा मारेका थियौँ । सोही क्रममा ठूलो परिमाणमा लागुऔषध फेला पर्यो,” प्रनाउ पासवानले भन्नुभयो ।

औषधि बिक्री तथा वितरणका लागि सञ्चालनमा रहेका फार्मेसीबाटै ठूलो परिमाणमा लागुऔषधजन्य औषधि बरामद हुनुले औषधिको बिक्री, वितरण र प्रयोगको नियमन तथा अनुगमन प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाएको उहाँले बताउनुभयो ।

पक्राउ परेकी सञ्चालिकामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । पोखरामा यसअघि पनि विभिन्न समयमा फार्मेसीबाटै लागुऔषध कारोबार हुने गरेको पाइएको थियो । त्यस्ता औषधि पसलका सञ्चालकलाई नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाउने गरिएको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया