बागलुङ, असोज २५ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफ्नो छोटो कार्यकालबीच शिक्षा क्षेत्रमा सुधारको प्रयास गरेको बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) बागलुङ–२ समन्वय समितिको बैठकमा आज बोल्दै मन्त्री पौडेलले शिक्षासँग सम्बन्धित कानून निर्माणदेखि भौतिक पूर्वाधारमा उल्लेख्य काम भएको बताउनुभयो । “सात वटा ऐन बनायौँ, सात वटा ऐन प्रक्रियामा छन्, कानून र अर्थ मन्त्रालयबाट सहमति लिनुपर्ने भएकाले बढी समय लाग्यो”, उहाँले भन्नुयो, “वर्षौँदेखि जेलिएका शिक्षकका समस्या क्रमशः हल हुँदै जाने स्थिति बनेको छ, निष्क्रिय भएर बसेको शिक्षा सेवा आयोगले गति लिएको छ ।”
उहाँले द्वन्द्वबाट विस्थापित साढे पाँच सय बढी शिक्षकलाई पुनःबहाली गरिएको उल्लेख गर्नुभयो । बाँकी शिक्षकको पुनःस्थापनाका लागि मन्त्रालयले प्रक्रिया अगाडि बढाएको मन्त्री पौडेलले बताउनुभयो । दरबन्दी मिलान, आन्तरिक बढुवा, अध्यापन अनुमति पत्रलगायतका कामले पनि गति लिएको उहाँको भनाइ छ । “शिक्षा क्षेत्रको सुधारमा सक्दो प्रयास ग¥र्यौँ भन्ने लाग्छ, समय पनि छोटो भयो, एउटा मात्र बजेट बनाउन पायौँ”, मन्त्री पौडेलले भन्नुभयो, “शिक्षा क्षेत्रलाई अगाडि बढाउन कानूनी संरचना तयार छ, भौतिकतर्फ पनि महत्वपूर्ण उपलब्धि भएको छ ।”
बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहनुभएका मन्त्री पौडेलले आउँदा दिनमा पनि शिक्षासँगै विकास, निर्माणका कामको नेतृत्व लिन तयार भएर चुनावमा होमिएको धारणा राख्नुभयो । उहाँ धवलागिरि क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रको एक्लो उम्मेदवार हुनुहुन्छ ।
विसं २०७४ को निर्वाचनमा तत्कालीन वाम गठबन्धनबाट सोही निर्वाचन क्षेत्रबाट विजयी बन्नुभएका मन्त्री पौडेल अहिले सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।