शिक्षकशिक्षिकालाई फोहरमैला व्यवस्थापन तालिम

  असार १३, २०७९

भादगाउँ, असार १३ : भक्तपुर नगरपालिकाले फोहर व्यवस्थापन सहज बनाउन शिक्षकशिक्षिकाहरूलाई दुईदिने फोहरमैला व्यवस्थापन तथा कौसी खेती तालिम प्रदान गरेको छ । भक्तपुर नगरपालिका–१ को आयोजनामा तालिम सोमबारदेखि सुरु भएको हो । तालिमको उद्घाटन गर्दै नगरप्रमुख सुनिल प्रजापतिले घरघरबाट नै कुहिने र नकुहिने फोहर छुट्याउन सके फोहर व्यवस्थापनमा धेरै सहज हुने बताउँदै कौसी खेती तालिम फोहर व्यवस्थापनमा पनि सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

विकसित देशहरूले फोहरलाई व्यवस्थापन गरी मोहरमा रुपान्तरण गरिरहेको चर्चा गर्दै प्रमुख प्रजापतिले काठमाडौँ उपत्यकामा फोहर चुनौतीका रुपमा खडा हुनुमा व्यवस्थापनको कमजोरी भएको बताउनुभयो । उहाँले कौसी खेतीलाई आवश्यक प्राङ्गारिक मल घरकै उत्पादन गर्न सके एकातिर फोहर व्यवस्थापनमा सहज हुने र अर्कोतर्फ कृषि उत्पादन वृद्धि हुनाका साथै परनिर्भरतासमेत कम हुने बताउनुभयो ।

तालिमका प्रशिक्षक सबिन ख्याजूले विषादीयुक्त तरकारी र फलफूलका कारण धेरै नागरिकहरु क्यान्सरजस्ता खतरनाक रोगबाट मृत्युवरण गरिरहेको यथार्थबारे अवगत गराउँदै किसानहरुले जैविक विषादीको प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो । वडा नं १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नपालाई आत्मनिर्भर र सुन्दर बनाउन कौसी खेती तालिम सञ्चालनमा जोड दिँदै आएको बताउँदै नगरपालिकाले पाक्षिक सरसफाइलाई समेत निरन्तरता दिँदै आएको जानकारी दिनुभयो । तालिममा वडाका ११ वटा विद्यालयबाट दुईरदुई जना शिक्षकशिक्षिकाहरुको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया