बनेपा (काभ्रे), ७ असोज : काभ्रेपलाञ्चोकको पाँचखालमा कृषि उत्पादनसँगै नयाँ जात र प्रविधिको परीक्षण भइरहेको छ । पाँचखालस्थित बागवानी विकास केन्द्रले हाइब्रिड धान, आलु, तरकारी तथा मसला बालीका विभिन्न जात र प्रविधिको परीक्षण गर्दै उत्पादन, लागत, बजार र कृषकको आम्दानीसँग सम्बन्धित तथ्य सङ्कलन तथा विश्लेषण गर्दै आएको छ ।
बागमती प्रदेश सरकारअन्तर्गत कृषि विकास निर्देशनालयको मातहतमा रहेको केन्द्रले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा चालु आव २०८३/८४ को कार्यक्रम सार्वजनिक गर्दै कृषि अनुसन्धान, प्रविधि परीक्षण, बीउ उत्पादन तथा कृषक क्षमता विकासका क्षेत्रमा भएका काम र प्राप्त नतिजा सार्वजनिक गरेको हो । केन्द्रको वार्षिक प्रगति विवरणअनुसार आव २०८२/८३ मा रु दुई करोड २४ लाख २२ हजार बजेट विनियोजन भएकामा रु एक करोड ७८ लाख ९८ हजार खर्च भएको छ । यसबाट वित्तीय प्रगति ७९ दशमलव ८२ प्रतिशत पुगेको छ । पुँजीगततर्फ ९८ दशमलव ६९ प्रतिशत र चालुतर्फ ७७ दशमलव ४३ प्रतिशत वित्तीय प्रगति भएको केन्द्रले जनाएको छ ।
केन्द्रले आफ्नै उत्पादन तथा सेवा बिक्रीबाट समीक्षा अवधिमा रु ६९ लाख ३१ हजार २०३ रुपैयाँ ५० पैसा राजस्व सङ्कलन गरेको छ । केन्द्रका प्रमुख तथा वरिष्ठ बागवानी विकास अधिकृत विष्णु बोगटीका अनुसार अनुसन्धान तथा प्रविधि परीक्षणलाई कृषकको उत्पादन र व्यावसायिक आवश्यकतासँग जोड्ने गरी कार्यक्रम सञ्चालन गरिएको छ । केन्द्रको परीक्षणमा राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम, हार्दिनाथबाट प्राप्त १० वटा पाइपलाइन हाइब्रिड धानका जातमध्ये नेपाली हाइब्रिड धान ‘एचएच–१४२’ ले पाँचखालको माटो र हावापानीमा प्रतिहेक्टर १० टनसम्म उत्पादन दिएको छ । विभिन्न जातको परीक्षणका क्रममा उक्त जातले उच्च उत्पादन दिएको केन्द्रका प्रमुख बोगटीले बताउनुभयो ।
धानको बीउ उत्पादनतर्फ केन्द्रले ५ दशमलव ८ मेट्रिक टन गुणस्तरीय बीउ उत्पादन गरी वितरण गरेको छ । उक्त बीउबाट करिव ११६ हेक्टर क्षेत्रफलमा धान खेती विस्तार गर्न सहयोग पुगेको केन्द्रले जनाएको छ । स्थानीय हावापानी अनुकूल उत्पादन क्षमता भएका जात पहिचान गरी कृषकसम्म पु¥याउने उद्देश्यले विभिन्न जातको परीक्षण गरिएको केन्द्रको भनाइ छ । धान उत्पादनसँगै मकैमा श्रम र समय घटाउने प्रविधिको परीक्षण गरिएको छ । केन्द्रले नर्सरीमा मकैका बिरुवा उत्पादन गरी उपयुक्त समयमा मुख्य खेतमा रोप्ने विधि परीक्षण गरेको हो । परीक्षणका क्रममा यसरी उत्पादन गरिएको हरियो मकै सामान्य समयभन्दा आठदेखि १० दिन अगाडि बजारमा पु¥याउन सकिएको केन्द्रले जनाएको छ ।
हरियो मकैको माग हुने समयमा उत्पादन बजारमा पु¥याउन सकिने भएकाले यस प्रविधिबाट उत्पादनको समय व्यवस्थापनमा सहयोग पुग्ने केन्द्रको निष्कर्ष छ । यसले उत्पादन प्रविधिलाई बजारको मागसँग जोडेर परीक्षण गर्ने केन्द्रको अभ्यासलाई समेत देखाएको छ । तरकारीतर्फ टनेल तथा सेडहाउसमा बेर्ना उत्पादन गरिएको छ । केन्द्रका अनुसार समीक्षा अवधिमा पाँच लाख ७० हजार तरकारीका बिरुवा उत्पादन गरी १७ हेक्टर क्षेत्रफलमा खेती विस्तार गर्न सहयोग गरिएको छ । गुणस्तरीय बेर्ना उत्पादन तथा वितरणबाट कृषकलाई खेतीको सुरुआती चरणमा हुने समस्या घटाउन सहयोग पुगेको केन्द्रले जनाएको छ ।
पाँचखालमा गरिएको आलुको जातगत आर्थिक विश्लेषणले भने उत्पादनसँगै लागत र बजार मूल्यले कृषकको आम्दानीमा पार्ने प्रभावसमेत देखाएको छ । केन्द्रको अध्ययनअनुसार पाँचखाल क्षेत्रमा प्रतिरोपनी औसत एक हजार ९८३ किलोग्राम आलु उत्पादन हुने गरेको छ । प्रतिरोपनी औसत उत्पादन लागत रु २२ हजार ३६० रुपैयाँ चार पैसा रहेको अध्ययनले देखाएको छ । अध्ययनअनुसार आलु खेतीको कुल लागत संरचनामा श्रमको हिस्सा २९ दशमलव ८५ प्रतिशत र बीउ आलुको लागत २४ दशमलव ९५ प्रतिशत रहेको छ । यी दुई शीर्षकमा मात्रै कुल लागतको करिब ५५ प्रतिशत खर्च हुने गरेको देखिएको छ । केन्द्रले आलु खेतीमा उत्पादन लागत घटाउन श्रम व्यवस्थापन र बीउको लागत महत्वपूर्ण हुने जनाएको छ ।
एउटै बालीभित्र पनि जातअनुसार उत्पादन, लागत र बजार मूल्यमा हुने फरकले कृषकको आम्दानीमा प्रत्यक्ष प्रभाव पार्ने देखाएको केन्द्रको अध्ययनले जनाएको छ । त्यसैले उत्पादन मात्र नभई जात छनोट र बजार मूल्यलाई समेत कृषि व्यवसायको आर्थिक विश्लेषणमा समेटिएको केन्द्रको भनाइ छ । केन्द्रले आलुको बीउको सुप्त अवस्था तोडेर छिटो टुसाउने बनाउन थाइयोयुरियाको प्रयोगसम्बन्धी परीक्षणसमेत गरेको छ । सामान्य अवस्थामा आलु खनेपछि टुसाउन १९ दशमलव ५ दिन लाग्नेमा १ दशमलव ५ प्रतिशत थाइयोयुरियाको घोलबाट उपचार गर्दा उक्त अवधि ६ दशमलव ५ देखि आठ दिनमा झरेको परीक्षणबाट देखिएको छ । यसबाट बीउ आलु रोप्ने समय व्यवस्थापनमा सहयोग पुग्ने केन्द्रको निष्कर्ष छ ।
मसला बालीतर्फ बेसारमा प्लास्टिक मल्चिङ प्रविधिको परीक्षण गरिएको थियो । पाँचखालको स्थानीय माटो तथा हावापानीमा गरिएको परीक्षणमा उक्त प्रविधि कृषकका लागि अपेक्षित प्रभावकारी नदेखिएको केन्द्रका सूचना अधिकारी तथा बागवानी विकास अधिकृत उमेश सापकोटाले जानकारी दिनुभयो । स्थानीय अवस्था र उत्पादन प्रणालीअनुसार प्रविधि छनोट गर्नुपर्ने आवश्यकता परीक्षणबाट देखिएको उहाँको भनाइ छ ।
केन्द्रले फलफूल तथा मसला बालीका स्रोत संरक्षण र बीउ उत्पादनमा समेत काम गरेको छ । सुन्तलाजात फलफूलअन्तर्गत सुनकागती–१ र २, तेह्रथुम लोकल, उन्सु तथा किन्नोका माउबोट व्यवस्थापन गरिएको छ । त्यस्तै, कफीका मुन्दोनोभा, टेक्स्टिसिक, स्वाइजा लोकल, इन्डोनेसिया, सेलेक्सन–१०, गुल्मी लोकल, कातुआई अमार्टिलो र चन्द्रागिरीलगायत जातका माउबोट व्यवस्थापन गरिएको केन्द्रले जनाएको छ । मसला बालीतर्फ ४ दशमलव ८ मेट्रिक टन बेसारको बीउ उत्पादन गरी करिब २ दशमलव ५ हेक्टर क्षेत्रफलमा व्यावसायिक खेती विस्तार गर्न सहयोग गरिएको छ ।
कृषकको क्षमता विकासका लागि केन्द्रले तीन वटा घुम्ती तालिम सञ्चालन गरी ७० जना कृषकलाई सहभागी गराएको छ । तालिममा कृषकलाई उत्पादन प्रविधि, बाली व्यवस्थापन तथा प्रयोगात्मक सीपसम्बन्धी जानकारी दिइएको केन्द्रले जनाएको छ । परीक्षणबाट सफल भएका प्रविधि तथा जातलाई कृषकसम्म पु-याउने र अपेक्षित परिणाम नदिएका प्रविधिबारे समेत जानकारी गराउने गरी केन्द्रले काम गरिरहेको केन्द्रका प्रमुख बोगटीले बताउनुभएको राससमा उल्लेख छ ।






