घोडाघोडीमा पर्यटक बढेसँगै रोजगारी सिर्जना

  कार्तिक १४, २०८०

घोडाघोडी (कैलाली), १४ कात्तिक : जैविक विविधताले महत्त्वपूर्ण रहेको पर्यटकीय क्षेत्र घोडाघोडी तालमा हिजोआज पर्यटकको चहलपहल बढेको छ । दुई वर्ष कोरोनाले थला परेको कैलालीको घोडाघोडी ताल क्षेत्रमा पर्यटकको  सङ्ख्या बढेसँगै यहाँको पर्यटन व्यवसाय फस्टाउन थालेको छ ।

घोडाघोडी ताल क्षेत्रमा अवलोकन गर्न टिकटको व्यवस्था गरिएको छ । १० रुपियाँ प्रतिव्यक्तिका दरले टिकट शुल्क लिएपछि घोडाघोडी ताल क्षेत्रमा प्रवेश पाउने व्यवस्था गरिएको कर्मचारी दीपक शाहले बताउनुभयो । उहाँका अनुसार दसैँको फूलपाती यता घोडाघोडीमा पर्यटकको सङ्ख्या निकै बढेको छ । 

साउन, भदौ र असोज महिनामा दश हजार पर्यटकले घोडाघोडी तालको अवलोकन गरेकोमा दसैँको १५ दिनमा दश हजार बढी पर्यटकले घोडाघोडीको अवलोकन गरेका छन् ।  

“घोडाघोडी घुम्न आउने विदेशी १२ जना छन् । अरू सबै आन्तरिक पर्यटक हुन्” कर्मचारी दीपक शाहले भन्नुभयो, “दुई वर्ष कोरोनाले थला परेको घोडाघोडी पर्यटन क्षेत्रमा पर्यटकको सङ्ख्या बढ्न थालेपछि यो वर्ष एक लाख बढी पर्यटक घोडाघोडी घुम्न आउने अनुमान गरिएको छ ।”

पछिल्लो समय घोडाघोडीमा पर्यटक आकर्षणका लागि पार्क निर्माण गरिनुका साथै सो क्षेत्रमा मगर तामाङ, नेवार, थारु लगायतका पोसाकमा तस्बिर लिन र घोडा सवार गर्न पाउने व्यवस्था भएपछि घोडाघोडी आन्तरिक पर्यटकको गन्तव्य बन्नुका साथै पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।

दसैँ पर्वसँगै पर्यटकको सङ्ख्यामा वृद्धि भएको स्थानीय व्यवसायीको भनाइ छ । विभिन्न जातजाति समुदायको पोसाक भाडामा दिएर यहाँका स्थानीयले राम्रै आम्दानी गरेका छन् । व्यवसायी सरस्वती शाहले एक घण्टाको लागि पर्यटकको रोजाइअनुसारको पोसाक एक सय रुपियाँमा भाडामा दिनेगरेको बताउनुभयो ।

उहाँले पहिला दैनिक दुई तीन हजार पोसाक भाडाबाट आम्दानी हुने गरेकोमा पर्यटकको सङ्ख्या बढेसँगै दैनिक पाँच–छ हजार पोसाक भाडाबाट आम्दानी हुनेगरेको बताउनुभयो ।

घोडाघोडीमा पर्यटकको सङ्ख्या बढेसँगै यहाँ आउने पर्यटकको तस्बिर खिचेर स्थानीय युवाले राम्रै आम्दानी गर्न थालेका छन् । स्थानीय विमला पौडेलले बेरोजगार भएर बरालिएका स्थानीय युवाले तस्बिर खिचेर राम्रै आम्दानी गर्नेगरेको बताउनुभयो । 

पहिला पाँच जना मात्र तस्बिर खिच्ने युवाहरू थिए भने अहिले पर्यटकको सङ्ख्या बढ्दै गएपछि घोडाघोडी क्षेत्रमा १६ जना स्थानीय युवाहरूले तस्बिर खिच्ने काम गर्छन् । कक्षा १२ मा पढ्दैगरेका घोडाघोडी नगरपालिका १ घोडाघोडी गाउँका विपुल सापकोटाले दसैँ–तिहारको बिदालाई तस्बिर खिच्ने कार्यमा बिताएका छन् । हातमा क्यामेरा बोकेर पर्यटकको तस्बिर लिंदैआएका सापकोटाले दिनमा तीन हजारदेखि पाँच हजारसम्म तस्बिर खिचेर कमाउने गरेको बताउनुभयो । 

एउटा तस्बिर खिचेर मोबाइलमा पठाएको २० रुपियाँको दरले लिने गरिन्छ ।  समूहमा घुम्न आउने पर्यटकको फोटो खिच्दा धेरै फाइदा हुने उहाँहरूको भनाइ छ । घोडाघोडीमा पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै स्थानीयमा रोजगारी सिर्जना भएको छ । केहीले घोडाघोडी क्षेत्रमा पसल सञ्चालन गरी मनग्य आम्दानी गर्दै आइरहेका गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया