काठमाडौँ, २८ कात्तिक : छठ पर्वका लागि काठमाडौँका प्रमुख छठ पूजा स्थल गौरीघाट र कमलपोखरीलाई झकिझकाउ बनाइएको छ। पर्वका लागि दुवै स्थानमा घाट निर्माण, सरसफाइ, झिलिमिली बत्ती जडान तथा सजावटका कामलाई तीव्रता दिइएको छ ।
छठ पर्व मनाउन आउने व्रतालु तथा श्रद्धालु भक्तजनलाई सहज र व्यवस्थित रूपमा पूजा गर्न सक्ने वातावरण बनाउन स्थानीयवासी तथा व्यवस्थापनमा खटिएका व्यक्तिहरू तयारीमा जुटेका छन् । गौरीघाट र कमलपोखरीका घाटलाई सफा र आकर्षक बनाउनुका साथै पूजाका लागि आवश्यक व्यवस्थापन मिलाइएको छ ।
काठमाडौँ उपत्यकामा छठ पूजाका प्रमुख स्थलका रूपमा रहेका यी दुवै स्थानमा हरेक वर्ष ठूलो सङ्ख्यामा श्रद्धालु भक्तजनको सहभागिता रहने गरेको छ ।
छठ पर्वको मुख्य दिन व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्छन् भने भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व विधिवत् रूपमा समापन हुन्छ। सूर्यदेव र छठी माताको आराधना गरी मनाइने यो पर्वले धार्मिक आस्था, पारिवारिक सुख, समृद्धि र आरोग्यको कामना गर्ने परम्परालाई बोकेको गोरखापत्र अनलाइनमा उल्लेख छ ।






