तमोर तरेर तोक्पेगोला (फोटो फिचर)

  साउन १३, २०८०

फिदिम, साउन १३ : ताप्लेजुङको पश्चिमोत्तर मिक्वाखोला गाउँपालिका–५, को उपल्लो छेउमा छ एउटा सानो सुन्दर गाउँ, तोक्पेगोला । छुट्टै प्राकृतिक सुन्दरताको राज हेर्न यहाँ पुग्नुपर्छ । यो ठाउँमा पुग्न ताप्लेजुङ सदरमुकाम फुङ्लिङदेखि देउलिङ्गे ओरालो झरेर तमोर तर्नुपर्छ ।

तिब्बतसँगको सिमावर्ती क्षेत्र तोक्पेगोला धेरै मोहक छ । यहाँ पुगेर फर्किन लाग्दा आँखा यतै वास बस्न खोज्छन् । मन अल्झिन्छ । लाग्छ तोक्पेगोलाको सुन्दर बनावट सिर्जना गर्नमा प्रकृतिको अलिकति पनि कन्जुस्याइ छदै छैन ।

भुतपोखरी, सोदुपोखरी, झरना, झुरुप्प बस्ती, चौरी–भेँडी बथान, फूलैफूल यहाँका मुख्य आकर्षण हुन् । तीन हजार सात सय मिटर उचाइमा रहेको तोक्पेगोलामा तीन घर लिम्बूसहित १९ घर शेर्पा जातिका छन् । यो हिमाली गाउँ छ महिना खुला भने छ महिना बन्द हुने अर्को छुट्टै विशेषता छ ।

गर्मी मौसम जेठ कात्तिक बीचमा तोक्पेगोला, चिसो मौसम मङ्सिरदेखि वैशाखसम्म औल बस्छन् । यो ठाउँमा हिमपात नहुने समय साउन भदौ महिना घुम्न आउन उपयुक्त मानिन्छ । यहाँ घुम्न आउने पाहुनालाई स्थानीय किशोरीले मौलिक पहिरनमा सजिएर फूल गुच्छाका साथ स्वागत गर्ने चलन छ ।

तोक्पेगोला गाउँ मेचीमार्ग पहुचको ताप्लेजुङ सदरमुकाम फुङ्लीङदेखि २२ कोष टाढा छ । यो ठाउँमा फूङ्लिङ्देखि दोभान, खाम्लुङ, थुकिमा, नाल्बु, साँवा, पापुङ हुँदै तीन दिनको पैदलमार्गबाट पुग्न सकिन्छ । पापुङको डुङ्ग्गीनसम्म गाडीबाट पुगेर उता एक दिन हिँडेर पनि पुग्नि सकिन्छ ।

यात्रा क्रममा साँवास्थितको रोमाञ्चक सुन्दर फूङ्फुङ्गे झराना देख्न पाइन्छ । तोक्पेगोला नामाकरणको लिम्बू र शेर्पा समूदायको आ–आफ्नै किवन्दन्ती छ । लिम्बू भाषामा ‘तक्पे’को अर्थ ठाडो र ‘गोला’ भन्नाले नाका बुझिन्छ । ‘तक्पेगोला’ कालान्तरमा तोक्पेगोला भएको भनाइ छ ।

यस्तै, शेर्पा भाषामा ‘ठोक्पे’ले लक्षिन र ‘गोला’ले हिमाली जनाउछ भन्ने छ । ‘ठोक्पेगोला’को अपभ्रम्स तोक्पेगालो हो भन्ने दाबी छ । तोक्पेगोलादेखि दुई दिन हिँडेपछि तिब्बत पुगिने स्थानीयको भनाइ छ । यो ठाउँ ऐतिहासिक स्थल पनि हो । यहाँ विगतमा हिमपात नहुने समयमा भोटदेखि नुन ढाडमा बोकी ल्याएर भण्डारण गरिन्थ्यो ।

सो नुन पूर्वका पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुम, धनकुटा हुँदै सुनसरी धरानसम्म ढाडबाटै आपूर्ति हुने गरेको अग्रजको भनाइ छ । तोक्पेगोलाको पुरानो भन्सार कार्यालय द्वन्द्वकाल २०५७/०५८ मा विस्थापित भएको पापुङवासी केसव लामालाई उद्धृत गर्दै गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तोक्पेगोलामा विषेश परिकारको रुपमा सुकुटीको साथमा काठे तोङ्बामा कोदोको जाँड खान पाइन्छ । यस क्षेत्रमा जडीबुटी केन्जो, माइकोपिला, विखुमा, सतुवा, पाखानवेद, पाँच औंले, खोकिम लगायत पाइन्छ । यसैगरी, हिमचितुवा, डाँफे, भालु, कस्तुरी, मृग, न्याउर, रेडपाण्डा पनि यहँँ भेटिन्छन् । शेर्पा जातिको लोकप्रिय संस्कृति स्याव्रु नाच समेत तोक्पेगोलामा हेर्न पाइन्छ ।  प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक हिसावले आकर्षक र महत्त्वपूर्ण तोक्पेगोला पर्यटन प्रबद्र्धन अभावले गुमनाममा छ । 

तपाईको प्रतिक्रिया