सिञ्जामा बहुप्राविधिक शिक्षालय स्थापना हुँदै

  माघ १६, २०७९

जुम्ला,माघ १६ : जुम्लाको सिञ्जा गाउँपालिका–६ स्थित भाडगाउँको दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापना हुने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सानोठिमी भक्तपुरले बहुप्राविधिक शिक्षालय स्थापना गर्न स्वीकृत प्रदान गरेपछि सो विद्यालय बन्ने निश्चित भएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।

प्राविधिक शिक्षालय स्थापना गर्नका लागि भाडगाउँका स्थानीयवासीले झण्डै एक लाख वर्ग मिटर जग्गा निःशुल्क उपलब्ध गराउने भएका छन् । अध्यक्ष धितालले भन्नुभयो, “सरकारी लगानीमा दुर्गम भाडगाउँमा स्थापना हुने शिक्षालयले विपन्नका छोराछोरीलाई प्राविधिक शिक्षा आर्जन गर्न सहज हुनेछ ।

पाँच-छ महिनादेखि पहल थालेका थियौँ ।” सो विद्यालयलाई जग्गा व्यवस्थापन र तत्कालका लागि चाहिने भौतिक पूर्वाधार तथा आर्थिक स्रोत पालिकाले गर्ने गरी परिषद्को आङ्गिक शिक्षालयका रूपमा सिञ्जा बहुप्राविधिक शिक्षालय स्थापनाका लागि स्वीकृत प्रदान भएको गाउँपालिका अध्यक्ष धितालको भनाइ छ ।

गाउँपालिकामा परिषदको आङ्गिक बहुप्राविधिक शिक्षालय खोल्नका लागि केन्द्रमा धैरे अथक मेहनत र प्रयासपछि सिटीइभिटीमार्फत सो विद्यालय स्थापनाका लागि काम अगाडि बढेको प्रमुख प्रशाासकीय अधिकृत मित्रलाल धितालले बताउनुभयो ।

प्रविधिक शिक्षा आर्जन गर्नका लागि सिञ्जा अब प्राविधिक शिक्षाको गन्तव्य बन्ने सिञ्जा गाउँपालिकाले जनाएको छ । प्राविधिक जनशक्ति उत्पादन गर्ने एउटा भरपर्दो शिक्षालयका रूपमा सिञ्जा बहुप्राविधिक विद्यालय स्थापन हुने भएपछि यहाँका विद्यार्थीदेखि स्थानीयवासीमा खुसी छाएको छ ।

तपाईको प्रतिक्रिया