शैक्षिक गुणस्तर सुधारका लागि तीन साझेदारसँग सहमति पत्रमा हस्ताक्षर

  मंसिर १५, २०७९

काठमाडौं, मङ्सिर १५ : काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले शैक्षिक क्रियाकलापलाई व्यवहारिक र जीवन उपयोगी बनाउन विभिन्न ३ वटा संस्थासँग सहकार्य सम्झौता गरेको छ ।

बिहीबार उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र शिक्षा सल्लाहकार रेशु अर्यालको रोहवरमा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले त्रिभुवन विश्वविद्यालय, केन्द्रीय गृह विज्ञान, कारखाना समूह र वन्यजन्तु संरक्षण संघ नेपालसँग सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

दोस्रो पक्षका तर्फबाट केन्द्रीय गृह विज्ञानका प्रमुख प्रा. डा. जयालक्ष्मी प्रधान, कारखानाका निर्देशक सचेत मानन्धर र वन्यजन्तु संघ नेपालका निर्देशक सञ्जीवनी योञ्जन हुनुहुन्छ ।

सम्झौतापछि बोल्दै उपप्रमुख डंगोलले, व्यवहारिक र प्रयोगात्मक शिक्षामार्फत शैक्षिक गुणस्तरमा रुपान्तरण गर्न चाहेको बताउनुभयो। ‘हामीलाई थाहा छ, गुणस्तरीय शैक्षिक क्रियाकलापका लागि गुणस्तरीय शिक्षण आवश्यक पर्छ। यसका लागि पर्याप्त पूर्वाधार र योग्य जनशक्ति आवश्यक हुन्छ। आफ्नो क्षेत्रबाट काम गरिरहेका साझेदारसँग सहकार्य गरेर हामी नतिजा निकाल्न प्रयास गर्नेछौँ ।’

तपाईको प्रतिक्रिया