शिक्षकको मर्यादाक्रम चाँडै टुङ्गिन्छ : शिक्षामन्त्री पौडेल

  कार्तिक २६, २०७९

गलकोट, कात्तिक २६ : नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकको मर्यादाक्रम चाँडै टुङ्गोमा पुग्ने बताउनुभएको छ । उहाँले सङ्घीय शिक्षा ऐन विधायन समितिमा पुगेकाले मर्यादाक्रमको टुङ्गो चाँडै टुङ्गो लाग्ने बताउनुभयो ।

आज गलकोट र बुर्तिबाङमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारसँग शैक्षिक तथा पेशागत अन्तक्र्रियामा उहाँले सङ्घीय शिक्षा ऐन विद्यायन समितिमा पुगेको भन्दै त्यो सरकारको सम्पत्तिका रुपमा रहेको बताउनुभयो ।

उहाँले शिक्षकको मर्यादाक्रमको फाइल अघि बढाएको बताउँदै गृह मन्त्रालयसँग समन्वयगरी चाँडै टुङ्ग्याइने जानकारी दिनुभयो । उहाँ शिक्षकको तलब सुविधा, मर्यादाक्रमका विषयमा आफूले पहल गरिरहेको बताउँदै शिक्षकलाई ढुक्क हुन आग्रह गर्नुभयो ।

मन्त्री पौडेलले आफूले शिक्षामा त्रिपक्षीय सुधार गरेको बताउनुभयो । उहाँले शिक्षामा भौतिक, कानुनी र गुणस्तर सुधार गर्न आफू लागिपरेको बताउनुभयो ।

सरकारले १० वर्षे विद्यालय सुधार योजना कार्यक्रमलाई अघि बढाएको बताउँदै शिक्षकको वृत्तिविकासमा शिक्षा मन्त्रालय संवेदनशील रहेको उहाँको भनाइ छ । मन्त्री पौडेलले १८ वर्षदेखि रोकिएको शिक्षकको आन्तरिक बढुवाका लागि विज्ञापन खुलाएर अन्तिम चरणमा पु¥याएको बताउनुभयो ।

मन्त्री पौडेलले विद्यालय समायोजनको प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्दै अतिन्यून विद्यार्थी भएका विद्यालयको पहिचान गरी अन्य विद्यालयसँग गाभिने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया