स्रष्टापार्क पुग्न पर्यटकीय पुल बन्ने

  असोज ०४, २०७९

ओखलढुङ्गा, असोज ४ : ओखलढुङ्गा सदरमुकाम बजार नजिकै स्रष्टा पार्क निर्माण गरिएको छ । जिल्लाका स्रष्टाहरूको सम्झनामा उहाँहरूको सालिकसहितको पार्क निर्माण गरिएको हो ।

पार्कमा नेपालकै पहिलो गायिका मेलवादेवी, वरिष्ठ लोक गायक तथा रेडियो प्रस्तोता पाण्डव सुनुवार, युगकवि सिद्धिचरण श्रेष्ठ र राष्ट्रिय गानका सर्जक प्रदीपकुमार राई (व्याकुल माइला) को अर्ध कदको सालिक निर्माण गरिएको छ ।

स्रष्टाहरूको सालिक रहेको पार्क नजिकै बौद्ध स्तुपा, फूलबगैँचालगायतका संरचनाहरू निर्माण गरिएको छ । सिद्धिचरण नगरपालिका र सङ्घीय सरकारको लगानीमा स्रष्टा पार्क र आसपासमा अन्य पर्यटकीय संरचना बनाइएको हो ।

ओखलढुङ्गा बजार नजिकै रहेको सिद्धिचरण पार्क हुँदै सिँढी उक्लिँदै यहाँ पुग्न सकिन्छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि पहिलो गन्तव्य बनेको छ सिद्धिचरण नगरपालिका–१२ मा रहेको स्रष्टा पार्क ।

सिद्धिचरण नगरपालिकाले यही पार्कमा पुग्न पर्यटकीय झोलुङ्गे पुल बनाएर थप पर्यटकलाई आकर्षित गर्ने योजना बनाएको छ । हुलाकडाँडा देखि स्रष्टापार्कसम्म जोडिने पुलको प्राविधिक अध्ययन गरिएको छ । अध्ययनपश्चात् करिब चार सय मिटर लामो पुल बन्ने जनाइएको छ । ओखलढुङ्गा बजार क्षेत्र र नगरपालिकामा पर्यटन प्रवर्द्धनका लागि पर्यटकीय पुल निर्माण गर्न लागिएको सिद्धिचरण नगरपालिका प्रमुख तेजेन्द्र खनालले बताउनुभयो ।

नगरपालिकाको आम्दानीको स्रोत पर्यटन क्षेत्र पनि रहेकाले पर्यटकलाई आकर्षित गर्ने संरचना निर्माण गर्न लागिएको प्रमुख खनालको भनाइ छ । पुलको निर्माण सम्पन्न भएपश्चात् ओखलढुङ्गा सदरमुकाम बजारको मध्य भागदेखि सिधै स्रष्टापार्क पुग्न सकिने छ । आर्थिक समृद्धिका लागि सदरमुकाम क्षेत्रमा आगन्तुक पर्यटकहरूको सङ्ख्या बढाएर होटल तथा व्यापार व्यवसाय प्रवर्द्धन गर्ने योजना रहेको सिद्धिचरण नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया