नेपाल विश्वविद्यालय स्थापनाका लागि मध्यविन्दु नगरपालिकाको सहमति

  भदौ ३०, २०७९

नवलपरासी पूर्व, भदौ ३० : नेपाल विश्वविद्यालय स्थापनाका लागि मध्यविन्दु नगरपालिकाले आवश्यक सहमतिपत्र आज हस्तान्तरण गरेको छ ।

नेपाल विश्वविद्यालय स्थापनासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा मध्यविन्दु नगरपालिका प्रमुख भीमलाल अधिकारीले विश्वविद्यालय पूर्वाधार विकास निर्माण तयारी समितिका संयोजक डा अर्जुन कार्कीलाई जग्गा व्यवस्थापनको विषयमा वडा र नगर कार्यपालिकाबाट भएको निर्णयको पत्र हस्तान्तरण गर्नुभएको हो ।

विश्वविद्यालय स्थापनाका सम्बन्धमा नगरपालिकाभित्रका विभिन्न सरोकारवालाको सहभागितामा अन्तक्र्रिया भएको थियो । सो अवसरमा नगरप्रमुख अधिकारीले मध्यविन्दु नगरपालिका क्षेत्रमा विश्वविद्यालय स्थापना हुनु गर्वको विषय हुने भन्दै त्यसका लागि सबै सरोकारवाला पक्षको साझा बुझाइ र पहल आवश्यक रहेको बताउनुभयो ।

उहाँले विश्व इतिहासमा विश्वविद्यालयको इतिहास लामो भए पनि नेपालमा करिब सात दशक मात्रै लामो विश्वविद्यालय इतिहास रहेको उल्लेख गर्दै अब बन्ने नेपाल विश्वविद्यालय हरेक दृष्टिले उत्कृष्ट हुनुपर्ने बताउनुभयो ।

उहाँले विश्वविद्यालय स्थापनाका लागि नगरपालिका र हुप्सेकोट गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित जग्गालाई व्यवस्थापन गर्ने गरी दुवै पालिका र सो क्षेत्रका स्थानीयवासीको सहमति प्राप्त भएको जानकारी दिनुभयो ।

अन्तक्र्रियामा विश्वविद्यालय स्थापनाका लागि भएका हालसम्मको प्रयास र अबको अवस्थाबारेमा पूर्वाधार विकास निर्माण तयारी समितिका संयोजक डा कार्कीले जानकारी गराउनुभएको थियो ।

नेपाल सरकारबाट विश्वविद्यालय स्थापनासम्बन्धी ऐन पारित भएर संसदीय सुनुवाइको चरणमा पुगेको भन्दै उहाँले विश्वविद्यालय स्थापनाका लागि आवश्यक जग्गाको व्यवस्थापन गर्न समिति अहिले लागि परेको बताउनुभयो ।

नवलपुरको विभिन्न स्थानीय तहमा विद्यालय स्थापनाका लागि जग्गा व्यवस्थापनको सम्बन्धमा अवलोकन गरिरहेको उहाँले जानकारी गराउनुभयो । मध्यविन्दु नगरपालिकाले जग्गा व्यवस्थापनका लागि गरेको पहल महत्वपूर्ण रहेको उहाँको भनाइ थियो ।

शिक्षाविद् डा पूर्णकान्त अधिकारीले नेपाल विश्वविद्यालयबाट उत्पादन हुने विद्यार्थी स्थानीयरूपमा सान्र्दभिक र विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्नेमा जोड दिनुभयो । डा तीर्थ थापाले विश्व विद्यालय स्थापनामा राजनीतिक हस्तक्षेपलाई निरुत्साहित गर्दै स्वायत्त समिति निर्माण गरेर उत्कृष्ट बनाउनेतर्फ अहिले नै सचेत हुनुपर्ने बताउनुभयो ।

डा अमिना सिंहले अहिले विश्वविद्यालयको पाठ्यक्रम निर्माणको विषयमा छलफल भइरहेको भन्दै नैतिकवान् विद्यार्थी उत्पादन गर्नतर्फ हाल समितिमा रहेका र छलफलमा सहभागी विज्ञहरु प्रतिबद्ध रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया