इन्द्रजात्राको आठै दिन निकालिने ‘मजिपा’ लाखे

  भदौ २५, २०७९

काठमाडौं, भदौ २५ : इन्द्रजात्रा काठमाडौंको एक महत्त्वपूर्ण र ठूलो जात्रा हो। इन्द्रजात्रामा इन्द्रध्वजोत्थान पुलुकिसी सवःभकु निकालिन्छ भने जीवित देवी कुमारी, भैरव र गणेशको रथजात्रा हुने गर्दछ ।

जात्राको मुख्य आकर्षण मजिपाः लाखे एक हो।  मजिपाः लाखे रंजितले निकाल्ने गर्छन्। किवंदन्ती अनुसार लाखेलाई एक दानवका रुपमा परिभाषित गरे पनि नेवार समुदायमा लाखेलाई शक्तिशाली देवताको रूपमा पुज्ने गरिन्छ।

आफूमा रहेको दानव आचरण त्यागेर साना बालबालिकाको रक्षाको दायित्व लिएका कारण नेवार समुदायमा लाखेलाई संरक्षक वा शान्त भैरवको रुपमा पूजा गरिन्छ।  इन्द्रध्वजोत्थान अर्थात् उपाकुको दिनदेखि लाखे निकालिन्छ। पहिलो दिन ‘लाखे नःनी’बाट लाखे निकालेर उपाकु जाने बाटो परिक्रमा गरेर भक्तजनहरुलाई दर्शन दिने गरिन्छ।

लाखेलाई ‘लाखे आजु’ भन्ने गरिन्छ। नेवार समुदायमा आफूभन्दा अग्रजलाई ‘आजु, अजी’ भन्ने प्रचलन भए अनुसार र लाखेलाई पनि शान्त भैरवको रुपमा पुज्ने भएकाले लाखेलाई सम्मान स्वरुप ‘आजु’ भनिएको हो।

इन्द्रजात्राको आठै दिन ‘मजिपा’ लाखे निकाल्ने गरिन्छ। जात्राको मुख्य मुख्य दिन वा कुमारी जात्रा हुने बाटोमा मजिपा लाखेलाई  परिक्रमा गराइन्छ।

तपाईको प्रतिक्रिया