श्रीमान्को सम्झनामा क्याम्पसलाई भवन

  असार १७, २०७९

वीरेन्द्रनगर, असार १७ : वीरेन्द्रनगरकी कमला मल्लले आफ्ना स्वर्गीय पति भीमबहादुर मल्लको नाममा बहुमुखी क्याम्पसमा भवन निर्माण गरिदिनुभएको छ । उहाँले क्याम्पसलाई सहयोग स्वरुप ‘भिम कमला शैक्षिक भवन’ निर्माण गरिदिनु भएको हो । एक वर्षको समय लगाएर निर्माण सम्पन्न उक्त भवन आज एक कार्य क्रमका बीच शिक्षा, विज्ञान तथा प्रविधिराज्यमन्त्री बोधमाया कुमारी यादवको सहभागितामा क्याम्पसलाई हस्तान्तरण गरिएको छ ।

मल्लले २५ लाख एक हजारको भीमकमला मल्ल छात्रवृति अक्षय कोष स्थापना गर्नुभएको छ । क्याम्पसका प्रमुख माधवप्रसाद खनालले शैक्षिक भवन निर्माणका लागि रु ७८ लाख २८ हजार ८८२ लागत लागेको बताउनुभयो ।

क्याम्पसका लागि मल्लले एक करोड तीन लाख २९ हजार ८८२ दान स्वरुप प्रदान गर्नुभएको थियो । खनालका अनुसार भवन निर्माणका लागि जग्गा भने क्याम्पसले नै उपलब्ध गराएको थियो । आज एक कार्यक्रमका बीच राज्यमन्त्री यादवद्वारा भवनकोे उद्घाटन एवं हस्तान्तरण गरिएको छ । दान स्वरुप भवन निर्माण गरेको भन्दै धन्यवाद दिनुभयो । शिक्षा क्याम्पसका प्रमुख माधवप्रसाद खनालले क्याम्पसले थुप्रै आर्थिक सङ्कटका आरोहअवरोह भोग्दै आएको बताउँदै शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्न आवश्यक रहेको औँल्याउनुभयो ।

यद्यपी यो क्याम्पस राज्यबाट उपेक्षामा पर्दै आएको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । खनालका अनुसार अहिले क्याम्पसमा ३७ मात्र कर्मचारी रहेका छन् । राज्यले वास्ता नगरेक कारण केही कर्मचारी आफैँले राखेको उहाँले बताउनुभयो । आर्थिक अभावको कारण क्याम्पसलाई सोचेअनुरुप अगाडि बढाउन नसकिएको क्याम्पस प्रमुख खनालको भनाइ थियो ।

तपाईको प्रतिक्रिया