उच्च शिक्षालाई गुणस्तरीय बनाउन सरकार दृढ छ : प्रधानमन्त्री

  असार १४, २०७९

गण्डकी, असार १४ : प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च शिक्षालाई गुणस्तरीय बनाउन सरकार दृढ सङ्कल्पित रहेको बताउनुभएको छ ।

पोखरा विश्वविद्यालयको २२औँ साधारण सभाको आज प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षता गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले उच्च शिक्षालाई देशको आवश्यकतामुखी, रोजगारमुखी, व्यवहारिक र गुणस्तरीय बनाउन सरकार दृढ रहेको बताउनुभयो । शैक्षिक क्षेत्रमा देखिएका विसङ्गतिको अन्त्य गर्दै शिक्षामा गुणस्तर अभिवृद्धि गर्ने कार्यमा सरकारको पूर्ण सहयोग रहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सुन्दर नगरी पोखरामा अवस्थित पोखरा विश्वविद्यालय मुलुककै उच्च शिक्षाको एउटा गहना रहेकाले समाजलाई समुन्नत बनाउन र मुलुकलाई विकासको पथमा डो¥याउन यसको महत्वपूर्ण भूमिका रहेको प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभयो । मुलुकमा दिगो शान्ति र राजनीतिक स्थायित्व कायम नभएसम्म विकासले गति लिन नसक्ने उल्लेख गर्दै उहाँले यसका लागि विश्वविद्यालयको भूमिका महत्वपूर्ण रहनेमा जोड दिनुभयो ।

दक्ष जनशक्ति उत्पादन गरी शिक्षित बेरोजगार अन्त्य गर्ने संस्था भनेका विश्वविद्यालय नै रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले शैक्षिक क्षेत्र अस्तव्यस्त र दिशाहीन बनेमा यसको घाटा हामी स्वयम् र मुलुकलाई नै हुने बताउनुभयो । सकारात्मक सोच लिएर विश्वविद्यालयको विकास र विस्तारमा सबैले साथ सहयोग दिनुपर्नेमा जोड दिँदै उहाँले विश्वविद्यालयले पनि स्थानीय सरकार, महानगरपालिकसँग समन्वय गरी अगाडि बढ्न सकेमा यसले गति लिने बताउनुभयो ।

सभामा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम तथा रजिष्टार डा दीपकबहादुर भण्डारीले बजेट प्रस्तुत गर्नुभएको थियो । सभाले आर्थिक वर्ष २०७९-८० को लागि कूल रु एक अर्ब ४६ करोडको बजेट स्वीकृत गरेको छ ।

स्वीकृत बजेटमा पुँजीगत खर्चतर्फ रु ६४ करोड तीन लाख ५७ हजार र साधारणतर्फ रु ८१ करोड ९६ लाख ४३ हजार छ । सभाले विश्वविद्यालयको सम्बन्धन प्राप्त महाविद्यालयलाई बढीमा दुई कार्यक्रम-समूह प्रतिस्थापन तथा थप गर्ने गरी महाविद्यालयलाई सङ्काय विशिष्टीकरण गर्ने विश्वविद्यालयको नीतिलाई परिमार्जन गरी सम्बन्धित महाविद्यालय-कलेजलाई स्वेच्छिक अवसर दिई सोको बाँकी प्रक्रिया अगाडि बढाउन स्वीकृत गरेको छ ।

त्यस्तै दश वर्षदेखि रोकिएको नयाँ महाविद्यालयको सम्बन्धन प्रक्रियालाई समेत सभाले खुला गर्ने नीति अवलम्बन गरेको छ र मौजुदा सम्बन्धन शुल्कमा समेत परिवर्तन गरिएको छ । सभाले विशेष मौका परीक्षाको व्यवस्था गर्न स्वीकृति प्रदान गर्दै विशेष मौका परीक्षामा सहभागी विश्वविद्यालयको १८औँ साधारण सभाको बैठकबाट भएको निर्णयबमोजिम विद्यार्थीको योग्यता, विद्यार्थीका सीमा, सर्त र परीक्षा सञ्चालनका विधि र प्रक्रिया अवलम्बन गर्नुपर्ने व्यवस्था गरेको छ ।

आव २०७९-८० को नीति तथा कार्यक्रममा विश्वविद्यालयले भौतिक निर्माण र पूर्वाधार विकासमा जोड दिएको छ । पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका साथै केन्द्रीय कार्यालय प्रशानिक भवनमा दुई तला थप, परीक्षा नियन्त्रण कार्यालयको लागि थप भवन निर्माण, मुँसेटुडामा रहेको जग्गाको विस्तृत गुरूयोजनाअनुसार पाँच हजार विद्यार्थी पठनपाठन गर्ने क्षमताका प्राज्ञिक भवन तथा शैक्षिक भवन निर्माण र तिनलाई चाहिने आवश्यक पूर्वाधार निर्माणको गुरूयोजनाका लागि बजेट विनियोजन गरेको छ ।

सभाले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । विश्वविद्यालयले सरकारको नीतिअनुरूप मेडिकल कलेजको सञ्चालन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । विभिन्न सङ्कायमा सञ्चालित स्नातक र स्नातकोत्तर तहका आङ्गिक कार्यक्रमको सबलीकरण हेतु सरकार, सरोकारवाला एवं स्थानीय निकायको सहभागितामा भूगोलको विशेषता र सम्भाव्यताको अध्ययन गरेर सातवटै प्रदेशमा आवश्यकताअनुसार आङ्गिक महाविद्यालय विस्तार गर्ने भएको छ ।

सभाले पोखरा विश्वविद्यालयका सम्बन्धन प्राप्त महाविद्यालयलाई आवश्यकतानुसार सामुदायिक तथा निजी महाविद्यालयको रूपमा वर्गीकरण गर्ने र सामुदायिक महाविद्यालयको सञ्चालनलाई स्थानीय सरकार र सङ्घसंस्थाको सहयोगमा मुनाफारहित महाविद्यालयको रूपमा व्यवस्थित गर्ने नीति अवलम्बन गर्ने निर्णय गरेको छ । पोखरा विश्वविद्यालयले दिने छात्रवृत्तिलाई सरकारले अवलम्बन गरेको नीति अनुरूप योग्यता र समावेशीताका आधारमा वर्गीकरण गरी छात्रवृत्ति प्रदान गर्ने आधार निर्माण गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया