कोभिडपछि तेस्रो वर्ष मानसरोवर यात्रा प्रभावित

  असार ०८, २०७९

बाँके, असार ८ : नेपालगञ्जका होटलहरुमा दुईवर्ष अघिसम्म यतिबेला भारतीय पर्यटकको भीडभाड हुन्थ्यो । होटलमा कोठा पाउन मुश्किल थियो । नेपालगञ्ज, कोहलपुर र आसपासका होटल भारतीय पर्यटकले भरिएका हुन्थे । नेपालगञ्ज हुँदै कैलाश मानसरोवर तीर्थाटन गर्न जान आएका भारतीय पर्यटकका कारण यहाँका होटल भरिभराउ हुन्थे ।

तर अहिले भने अवस्था फरक छ । ठूला होटलहरु सुनसान छन् । अघिल्ला दुईबर्ष कोभिड–१९ का कारण आवागमन अवरुद्ध भएपछि मानसरोवर यात्रा पनि प्रभावित भएको थियो । अहिले कोभिड संक्रमण न्यून भएर जनजीवन सामान्य भएपनि मानसरोवर यात्रामा जाने भारतीय पर्यटकहरु आएका छैनन् ।

पर्यटन ब्यवसायी केशव न्यौपानेका अनुसार चिनिया पक्षले कोभिड–१९ पछि प्रवेश अनुमति नदिएका कारण यसवर्ष पनि मानसरोेवर यात्रा प्रभावित भएको जानकारी दिनुभयो । ‘चीनबाट भिसा नपाउने भएपछि भारतीय तिर्थयात्रीहरु आउनुभएको छैन । होटल सिद्धार्थ भ्यूका प्रबन्ध निर्देशक न्यौपानेले भन्नुभयो, ‘लगातार तेस्रो वर्ष पनि मान सरोवर यात्रा प्रभावित भएको छ । चीनबाट भिसा नपाउने भएपछि अबको दुई महिनाभित्रै हुम्लास्थित नेपाली सीमाक्षेत्र लिमी उपत्यकाबाटै मान सरोवर दर्शन गराइने भएको छ । त्यसका लागि पर्यटन ब्यवसायीहरुले आन्तरिक र बाह्य तयारी गरिरहेका छन् ।’

मानसरोवर जानका लागि भारतीय तिर्थयात्रीले मुख्य रुपमा प्रयोग गर्ने नेपालगञ्ज विमानस्थल हो । निजी वायुसेवा कम्पनी सिता एयरका सूर्य भण्डारीले यसबर्ष अहिलेसम्म भारतीय पर्यटक मानसरोवर यात्राका लागि नआएको बताउनुभयो ।

होटल व्यवसायी महासंघ बाँकेका निवर्तमान अध्यक्ष भिमलाल कँडेलका अनुसार मानसरोवर जाने उपयुक्त समय हरेक बर्षको वैशाखदेखि भदौसम्म हो । मानसरोवर–कैलाश पर्वत भ्रमणका लागि आउने भारतीयको संख्या विगतमा अत्याधिक बढेपछि यहाँ होटल तथा अन्य व्यवसाय फस्टाएको थियो ।

पछिल्लो समय पर्यटकको संख्यासँगै स्तरीय होटल समेत बढेका छन् । मानसरोबार यात्रा पाँच महीनासम्म चल्ने गरेको  छ । बाँकेमा तीन हजारभन्दा बढी होटल सञ्चालनमा छन् । नेपालगञ्ज उप–महानगरपालिकामा मात्रै १५ सय भन्दा बढी होटल सञ्चालनमा रहेको होटल व्यवसायी संघ बाँकेले जनाएको छ ।

मानसरोवरयात्रीलाई लक्षित गरि नेपालगञ्जमा होटल सोल्टी, वेस्टेन्ड प्रिमियर, सिद्धार्थ भ्यू, किचन हट, बाटिका, स्नेहा, सिटी प्यालेस, सिग्नेट इन कृष्णा, भेरी, कल्पतरु र कोहलपुरमा सेन्टर प्लाजा लगायत तारे होटल समेत सञ्चालनमा छन् ।

तपाईको प्रतिक्रिया