कृष्णपुरको महाकाली नमूना माविले सञ्चालन ग-यो स्कुल बस

  बैशाख २५, २०७९

महेन्द्रनगर, वैशाख २५ : कृष्णपुर नगरपालिका ५ वसन्तपुरस्थित महाकाली नमूना विद्यालयले विद्यार्थीहरुका लागि स्कुल वस सञ्चालन गरेको छ । सुदूरपश्चिम प्रदेशमै सामुदायिक विद्यालयमा महाकाली माविले चालु शैक्षिक सत्रदेखि पहिलो पटक स्कुल वस सञ्चालनमा ल्याएको हो ।

विद्यालयका प्रधानाध्यापक गणेश कुँबरले सबै विद्यार्थीको विद्यालयमा सहज पहुँच बढाउन स्कुल सञ्चालन गरिएको बताए । ‘विद्यालय भन्दा टाढाका विद्यार्थी र बालबालिकालाई लक्षित गरी वस सञ्चालन गरिएको छ, उनले भने,‘वस चलेपछि अब विद्यार्थीहरुलाई विद्यालयसम्म आउन कुनै समस्या हुँदैन ।’

माध्यमिक तहका प्राविधिक धारका कक्षा सञ्चालन गरेको विद्यालयलाई तीन वर्ष अघि नमूना विद्यालय घोषणा गरिएको थियो । त्यसपछि विद्यालयले घोषणा अनुसार नमूना बनाउन विभिन्न कार्यक्रम अघि बढाएको छ । त्यस अन्र्तगत विद्यालयसम्म सबैको पहुँच सुनिश्चित गर्न वस सञ्चालन गरिएको हो ।

‘अब बालबालिकालाई घरबाटै विद्यालयसम्म ल्याउन सक्छौ’ उनले भने,‘अभिभावकले पनि वस भए बालबालिका विद्यालय पठाउँछौ भन्दै आएका थिए, अब घरबाट बालबालिका विद्यालयमा ल्याउँछौ ।’

संस्थागत विद्यालयले घरबाटै बालबालिकालाई वस चढाएर ल्याउँदा विद्यालयले वस किन्ने निर्णय गरी अघि बढेको थियो । बालबालिकालाई घरबाट ल्याउने व्यवस्था नहुँदा अघिल्लो वर्ष आधा विद्यार्थी घटेका थिए । प्रधानाध्यापक कुँबरका अनुसार बालविकासमा भर्ना भएका ७५ जनामध्ये आधाले विद्यालय आउन छाडेका थिए ।

‘विद्यालय आउन छाडेपछि घरदैलो जाँदा साधन नभएकाले समस्या परेको अभिभावकले गुनासो गरे’ प्रधानाध्यापक कुँबरले भने,‘त्यसपछि विद्यालय वस सञ्चालन गर्ने निर्णयमा पुग्यो ।’

विद्यालयमा अघिल्लो शैक्षिक सत्रमा ६ सय बढी विद्यार्थी अध्ययनरत छन् । झण्डै दुई दशक अघि महाकाली माविले सुदूरपश्चिममा पहिलो पटक विद्यार्थीहरुलाई टाई बेल्ट लगाएको थियो । त्यसपछि अन्य सामुदायिक विद्यालयमा यसलाई अनुसरण गरिएको थियो ।विकल्प दैनिकले जनाएको छ ।

तपाईको प्रतिक्रिया