विद्युतीय बस चलाउँदै महानगरपालिका

  पुष २५, २०७८

ललितपुर, पुस २५ : ललितपुर महानगरपालिकाले पर्यटक, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र बालबालिकालाई निःशुल्क सेवा दिने गरी विद्युतीय सवारीसाधन सञ्चालन गर्ने भएको छ । अन्य व्यक्तिका लागि भने सःशुल्क सेवा प्रदान गरिने भएको छ ।

“ललितपुर महानगरपालिकाले साझा यातायातसँग समन्वय गरेर विद्युतीय सवारीसाधन सञ्चालन गर्नेछ”, महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भन्नुभयो, “स्थानीय तहले विद्युतीय बस सञ्चालन गर्नेमा ललितपुर महानगरपालिका पहिलो स्थानीय सरकार हुनेछ ।”

प्रारम्भिक चरणमा चारवटा विद्युतीय सवारीसाधन सञ्चालन गर्न लागिएको ललितपुर महानगरपालिकाले जनाएको छ । आवश्यकताका आधारमा अरू छवटा विद्युतीय सवारीसाधन थप्ने महर्जनले जानकारी दिनुभयो । करिब एक महिनापछि महानगरपालिकाले विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको छ ।

उहाँका अनुसार अहिले ललितपुर क्षेत्रमा आउने अधिकांश पर्यटकको बसाइ आधा वा एक दिन मात्र हुने गरेको छ । विद्युतीय सवारीसाधन सञ्चालन गरी पर्यटकलाई निःशुल्क सेवा प्रदान गरिएपछि महानगरपालिकाले कम्तीमा पर्यटकलाई तीन दिनको प्याकेज बनाउने योजना बनाएको छ । त्यसपछि उक्त प्याकेजअन्तर्गत ललितपुरको पुल्चोक, पाटन दरबार क्षेत्र, लगनखेल, जावलाखेललगायतका क्षेत्रमा पर्यटकलाई विद्युतीय सवारीसाधनबाट निःशुल्क भ्रमण गराउने योजना महानगरपालिकाले बनाएको छ ।

पुल्चोकस्थित महानगरपालिकाको प्राङ्गणबाट पाटन दरबार क्षेत्र, लगनखेल, कुपन्डोल सानेपा, धोबीघाट जावलाखेललगायतका रुटमा महानगरपालिकाले विद्युतीय सवारीसाधन सञ्चालन गर्नेछ । उक्त सवारीसाधन खरिद गर्न करिब तीन करोड रुपियाँ लागत लाग्ने अनुमान महानगरपालिकाले गरेकोे छ ।

साझाले महानगरको लोगो राखेर चलाउने महानगरले तोकेका व्यक्तिसँग शुल्क नलिने, साझाले बस सञ्चालन गर्दा बसको भाडाबाट नियमित रूपमा बस सञ्चालनको खर्च अपुग भए महानगरले थप बजेट प्रदान गर्नेछ । सेवा एक पटक सञ्चालन भएपछि त्यो दीर्घकालीन रूपमा सञ्चालन गर्न महानगरपालिकाले यस्तो नीति बनाएको महर्जनले बताउनुभयो ।

स्मार्ट सडक बत्ती
ललितपुर महानगरपालिकाले पहिलो चरणमा महानगरपालिकाको कतिपय क्षेत्रमा राखेको स्मार्ट सडक बत्तीको प्रभावकारिता भएपछि स्मार्ट सडक बत्ती विभिन्न स्थानमा विस्तार गर्न लागेको छ । महानगरपालिकाले पहिलो चरणमा बागमती पुलबाट पुल्चोक, जावलाखेल हुँदै सातदोबाटो, कोपुन्डोलबाट पाटनढोका, अशोकहल, नागबहाल हुँदै मङ्गलबजार, पाटन दरबार क्षेत्रमा स्मार्ट सडक बत्ती राखेको थियो ।

त्यस्तै पुल्चोकबाट गाःबहाल, मङ्गलबजार, ग्वार्को र जावलाखेलबाट एकान्तकुनासम्म गरी ६६९ वटा स्मार्ट सडक बत्ती जडान भइसकेको छ । स्मार्ट सडक बत्ती प्रभावकारी भएपछि महानगरपालिकाले दोस्रो चरणमा हरिसिद्धी, धापाखेल, सुनाकोठी, सैंँबु भैँसीपाटी बुङ्मतीलगायतका क्षेत्रमा सडक बत्ती जडान गर्न लागेको नगरप्रमुख महर्जनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सो क्षेत्रमा स्मार्ट सडक बत्ती राखिएपछि रात्रिकालीन रूपमा समेत सहज रूपमा आवतजावत गर्न सकिनेछ ।”

तेस्रो चरणमा ललितपुर महानगरपालिकाको क्षेत्र पर्ने चक्रपथमा स्मार्ट सडक बत्ती राख्ने तयारी छ । चक्रपथको मनोहरा नदीका बालकुमारीदेखि बल्खुसम्मको दायाँबायाँको सर्भिस ट्र्याकमा गरी १५.८ किलोमिटर क्षेत्रमा स्मार्ट सडक बत्ती राख्ने योजना बनाइएको छ । उक्त कार्यका लागि करिब १८ करोड रुपियाँ लागत लाग्ने अनुमान गरिएको छ । त्यसका लागि त्रिपक्षीय सम्झौता भइसकेको छ । जसमा ६० प्रतिशत महानगरपालिका र ४० प्रतिशत विद्युत् प्राधिकरणले बेहोर्ने गरी त्रिपक्षीय सम्झौता भएको महर्जनले बताउनुभयो ।

तपाईको प्रतिक्रिया