काठमाडौं, चैत २१ : नेपालको सबैभन्दा धेरै पदयात्रा हुने अन्नपूर्ण सर्किटमा पर्यटकको सुरक्षाका लागि स्थापना भएको रेस्क्यू सेन्टर प्रभावहिन बनेको छ । यस क्षेत्रमा पदयात्रा र पर्वतारोहणमा जाने पर्यटकहरुलाई विपत र जोखिमबाट न्युनिकरण गर्ने उदेश्यले दुईवर्ष अघि स्थापना गरिएको रेस्क्यू सेन्टर सञ्चालमा बजेट अभाव भएपछि प्रभावहिन बनेको छ ।
कोरियन टेलिकमको आर्थिक सहयोगमा नेपाल पर्वतारोहण संघले सञ्चालन गर्ने गरी रेस्क्यू सेन्टर स्थापना गरिएको थियो । स्थापना भएपछि दुई वर्षसम्म कोरियन टेलिकमले सबै प्रशासनिक खर्च व्यहोर्ने सम्झौता भए पनि हालसम्म कुनै पनि बजेट प्राप्त गर्न नसकेको नेपाल पर्वतारोहण संघका अध्यक्ष शन्तविर लामाले बताउनुभयो । कोरोना भाईरसका कारण प्रभावित बन्दा बजेट पठाउन नसकेको हुनसक्ने उहाँको भनाइ छ । दुईवर्ष पछि भने संघले नै सबै खर्च व्यहोर्ने सम्झौता भएको छ ।
रेस्क्यू सेन्टर सञ्चालनका लागि ११ जना स्थानीयबासीलाई तालिम दिइएको छ भने पोखरा र आधार शिविरमा रहने गरी स्थानीय होटल व्यवसायीलाई नै तालिम दिएर उद्धारमा खटाउने गरी प्रावधान मिलाइएको अध्यक्ष लामाले बताउनुभयो । कोरियन टेलिकमले वाकीटाकी, ड्रोनको सहयोगमा सबै उद्धारका काम गर्ने गरी भवनहरु निर्माण गरी संघलाई जिम्मा दिइसकेको हो ।
यता, संघका अध्यक्ष लामाले भने यस वर्ष अन्नपूर्ण क्षेत्रमा सबै भन्दा धेरै पर्यटक पदयात्रा र पर्वतारोहणमा गएको तथ्याङक भएकाले बजेट प्राप्त नभए पनि उद्धारका लागि तयारी अवस्थामा बस्ने जानकारी दिनुभयो । अत्याधुनिक प्रबिधिबाट सञ्चालित यस रेस्क्यू प्रबिधिलाई तालिम प्राप्त जनशक्तिबाट उद्धार गरिने लक्ष्य राखेको छ ।
रेस्क्यू सेन्टरले नयाँ प्रबिधिको सहयोगमा चार किसिमले रेस्क्यू गर्ने संघले जनाएको छ । यसमा इन्फारेड क्यामरा (आइआर) ले ड्रोनबाट हिट (तातो) सेन्सर बस्तु पत्ता लगाएर जिवित मानिस पत्ता लगाएर तत्काल हेलिकप्टरबाट उद्धार गरिने छ । तातो बस्तु देख्न साथ क्यामरामा जडित सेन्सरले रातो सिक्नल दिन्छ र जीवित छ भन्ने पत्ता लाग्ने छ ।
अर्को आइ ट्राकिङ सिष्टमबाट हराएको व्यक्ति कहाँ छ भनेर पत्ता लाग्ने छ । पदयात्रा र आरोहणमा जाने व्यक्तिलाई साथमै डिभाइस पठाएर उद्धारमा गरिनेछ । अर्को विधि भनेको आपतकालीन अवस्थामा ड्रोनको सहयोगमा १० किलोग्रामसम्म खाना त्यस क्षेत्रमा पु¥याएर तत्काल मानिसलाई बचाउने काम हुनेछ ।
वाकीटाकी र ड्रोनलगायत अत्याधुनिक स्रोतसाधनको प्रयोग गरी तत्काल सम्पर्क गर्ने, अवाश्यकता अनुसार स्थानीयबासीलाई उद्धार सम्बन्धी आधारभूत तालिम दिने, होटलका स्टाफ, माउण्टेन गाइड, ट्रेकिङ गाइड सहकार्य गरेर तत्काल पहिचान गरी उद्धार गर्ने लक्ष्य राखेको छ । उद्धारमा खर्चको व्यवस्थापन गर्न बास्केट फन्डको अवधारणबाट सरकारसँग सहकार्य गरेर सञ्चालन गर्नेछ ।
नेपालमै पहिलो पटक अत्याधुनिक रेस्क्यू सेन्टर सुरु
हालसम्म विपत्तबाट बचाउन अन्नपूर्ण क्षेत्रमा स्थापना भएको नेपाल अन्नपूर्ण रेस्क्यू सेन्टर नेपालकै पहिलो हो । कोरियन टेलिकम र कोरियन आरोहीको नाममा स्थापित हुम हुङगील फाउण्डेशनले नेपाल पर्वतारोहण संघसँग सहकार्य गरी अन्नपूर्ण हिमश्रङखला क्षेत्रमा उद्धार गर्न रेस्क्यू सेन्टरको शुरुवात भएको हो ।
हिमाल आरोहण मात्र नभएर बाढी पहिरो र अन्य विपत्तिको समेत उद्धार गर्ने सञ्चालनको संघले जिम्मा पाएको छ । आवश्यक जनशक्ति, ड्रोन, हेलिकप्टरको लङलाइन प्रबिधिलगायत प्रयोग गरेर उद्धार गरिनेछ । सरकारको तथ्याङक अनुसार पदयात्रा र पर्वतारोहणकै क्रममा वर्षेनी दर्जनौं पर्यटक, आरोही, गाइड र मजदुरले ज्यान गुमाउँदै आएका गोरखापत्र अनलाइनमा उल्लेख छ ।