‘सहकार्यबाटै पर्यटनका समस्या समाधान’

  चैत २१, २०७७

काठमाडौँ, चैत २१ : कोरोना सङ्क्रमणका कारण पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएकाले यसलाई उकास्न सरकार गम्भीर रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले बताउनुभएको छ ।

शुक्रबार होटल सङ्घ नेपाल (हान)को ४७औँ वार्षिक साधारण सभा कार्यक्रममा उहाँले पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार सरोकारवालासँग सहकार्य गर्न तयार रहेको पनि बताउनुभयो । “सरकारले पर्यटनका समस्या समाधान गर्न प्राप्त सुझावलाई सकारात्मक रूपमा ग्रहण गर्छ”, उहाँले भन्नुभयो, “समाधान गर्न पनि सहकार्यका लागि सरकार तयार छ ।”

कार्यक्रममा मन्त्री ढकालले आगामी आर्थिक वर्षको बजेटमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर सम्बोधन गर्न पनि मन्त्रालयले प्रयत्न गरिरहेको जानकारी दिनुभयो । गत वर्षको बजेट कोभिड नियन्त्रणमै बढी केन्द्रित भए पनि यस वर्ष त्यसबाट प्रभावित पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने भन्दै मन्त्रालयले अर्थ मन्त्रालयसँग छलफल गरिरहेको पनि उहाँले बताउनुभयो । “यस वर्ष पनि मन्त्रालयको बजेट सिलिङ गत वर्षकै जस्तै छ”, उहाँले भन्नुभयो, “तर नीतिगत रूपमै पर्यटनलाई प्राथमिकतामा राख्नुपर्ने भएकाले बजेटमा सम्बोधन गर्न अर्थ मन्त्रालयसँग छलफल गरिरहेका छौँ ।”

कोरोना सङ्क्रमणका कारण खासगरी होटल व्यवसाय अत्यधिक प्रभावित भएकाले पर्यटक भिœयाउने वातावरण तयार गर्न मन्त्रालयकै पहलमा पछिल्लो प्रोटोकल ल्याइएको उहाँले जानकारी दिनुभयो । मन्त्रिपरिषद्बाट हालै मात्र पारित भएको उक्त प्रोटोकलले पर्यटक आउने वातावरण तयार गर्ने उहाँको विश्वास छ ।

साधारण सभामा हानका अध्यक्ष सिर्जना राणाले कोरोना सङ्क्रमणपछि होटल व्यवसाय धान्नै नसक्ने अवस्थामा पुगेको बताउनुभयो । परिस्थिति प्रतिकूल हुँदा मजदुरसँगकै छलफलमा कर्मचारी र तलब कटौतीसम्मको अवस्थामा पुग्नु परेको उहाँको भनाइ थियो । उहाँले यस्तो परिस्थितिमा होटल व्यवसायका समस्या समाधान गर्न सरकारले अभिभावकीय भूमिका खेल्ने अपेक्षा व्यक्त गर्नुभयो ।
कार्यक्रममा उहाँले होटल व्यवसाय पुनरुत्थानका लागि आन्तरिक पर्यटनलाई बढावा दिनुपर्ने बताउनुभयो । हप्तामा दुई दिनको बिदाको व्यवस्थाले पनि पर्यटकीय गतिविधि बढ्ने उहाँको भनाइ थियो ।

होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगका रूपमा राखेर सरकारले सुविधा र सहुलियत दिनुपर्ने माग उहाँले राख्नुभयो । त्यस्तै पर्यटकीय उपजको वर्गीकरण गरेर विशिष्टीकृत सेवा दिनुपर्नेमा उहाँले जोड दिनुभयो । हानका वरिष्ठ उपाध्यक्ष विनायक शाहले होटललाई प्लास्टिकमुक्त बनाउने उद्देश्यसहित सङ्घले अभियान सुरु गरेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया