सरकार समर्थनबारे निर्णय गर्न माओवादी केन्द्रकाे स्थायी समितिको बैठक केही दिनपछि बस्ने

  चैत १९, २०७७

काठमाडौं, चैत १९ : सरकारलाई समर्थन दिने वा नदिने भन्ने बारे औपचारिक निर्णय गर्न नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठक केही दिनमा बस्ने निर्णय भएको छ ।

बिहीबार पेरिसडाँडामा बसेको स्थायी समितिको अनौपचारिक बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सो बारे निर्णय लिन केही दिनभित्र बैठक बस्ने बताउनुभएको हो ।

उहाँका अनुसार एकदुई दिनभित्र स्थायी समितिको बैठक बसेर अहिलेको राजनीतिक घटनाक्रमलाई कता लैजाने र राजनीतिक कोर्ष, भूमिकाबारे आवश्यक निर्णय लिनेछ ।

‘पार्टीको स्ट्याण्ड बाइ पोलिस अन्तर्गत यो सरकारलाई समर्थन छैन, प्राविधिक रुपमा चिठी लेखेको छैन ।’ उहाँले बताउनुभयो, ‘हामीले पार्टीको एकतापछि सरकार ७६(१) को सरकार भएको थियो । ७६ (१) को सरकारलाई सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलालाई नेकपालाई दुईटा पार्टीमा विभाजन गरिदिइसकेपछि हामीसँग समर्थन मागेको पनि छैन, हामीले पनि समर्थन गरेका पनि छैनौं ।’हाम्रो समर्थन छैन भनेर औपचारिक रुपमा मात्र लेख्न बाँकी छ ।’ 

सांगठनिक प्रक्रिया, देशव्यापी अभियान, प्रशिक्षण, भेलाबारे प्रारम्भिक छलफल गरेको उहाँले बताउनुहुँदै स्थगित केन्द्रीय समितिको बैठक, सम्मेलन वा राष्ट्रिय भेला गर्नेबारे पनि प्रारम्भिक छलफल गरेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया