चितवनका वनमा डढेलो, हवाइ उडानसमेत प्रभावित

  चैत ११, २०७७

चितवन, चैत ११ : चितवनका वनमा लागेको डडेलो नियन्त्रणमा लिन कठिनाइ भएको छ । जिल्लाको सामुदायिक वन चितवन राष्ट्रिय निकुञ्ज लगायतका क्षेत्रमा लागेको आगो नियन्त्रणमा लिन नसकिएको हो ।

भरतपुरसँग जोडिएका सामुदायिक वनहमा आगलागी हुँदा पनि समयमै नियन्त्रणमा लिन कठिनाइ हुने गरेको वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिनुभयो । भरतपुरसँगै जोडिएको रामवेल सामुदायिक वन, सतनचुली सामुदायिक वन, नारायणगढ–मुग्लिन सडक खण्डको राष्ट्रिय वनमा पनि पछिल्ला दुई दिनमा आगलागी भएको थियो ।

पहाडी क्षेत्रमा बाटो र बस्तीभन्दा धेरै पर आगो लाग्ने गरेकाले अहिलेकै अवस्थामा ती क्षेत्रमा आगलागी हुँदा नियन्त्रण सम्भवै नहुने सामुदायिक वनका प्रतिनिधिले जानकारी दिएका छ्न । गतवर्ष चितवनमा पाँच सय हेक्टर क्षेत्रफलमा आगलागी भएकोमा करिब एक सय हेक्टर क्षेत्रकोमात्रै समयमै नियन्त्रणमा लिन सकिएको डिभिजन वन कार्यालय चितवनले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जले ९५२ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। यसको अलावा चितवनमा जिल्ला वन कार्यालय मातहतमा पनि ठूलो क्षेत्रफल वनले ढाकिएको छ। चितवनसँग पर्सा राष्ट्रिय निकुञ्ज र नवलपरासी क्षेत्रमा रहेको राष्ट्रिय वन पनि जोडिएका छन् । फागुनदेखि वैशाखसम्म यी क्षेत्रमा आगलागी निकै हुने गर्छ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल घाँसका लागि मध्यवर्ती क्षेत्रको भर पर्नेहरुले पालुवाको लोभमा आगजनी गर्ने गरेको बताउनुहुन्छ । उहाँका अनुसार निकुञ्जले नियन्त्रित आगलागी गर्ने गरेको छ । झाडी फाड्न घाँसे मैदान निर्माण गर्नलाइ आगलागी गर्ने गरेको उहाले जानकारी दिनुभयो ।

हवाई उडान प्रभावित

वायु प्रदूषणकै कारण मंगलबार चितवनबाट कुन पनि उडान हुन सकेन । भरतपुर विमानस्थलमा मंगलबार १२ वटा उडान तालिका थियो । तर साँझसम्मै प्रदूषणको मात्रा उत्तिक रहेपछि उडान हुन नसकेको विमानस्थलले जनाएको छ । मंगलबार बुद्ध एयरको ८ वटा उडान हुने तालिका थियो ।

बुद्ध एयर भरतपुरका प्रमुख भक्तबहादुर बस्नेतले भिजिविलिट कम भएपछि उडान हुन नसकेको बताउनु भयो । मंगलबार यतिको ४ वटा उडान थियो । बिहान केहीबेर उड्न सहज हुने वातावरण बने पनि अहिले पुनः भिजिविलिट कम भएर उडान हुन नसकेको बुद्ध एयरका प्रमुख बस्नेतले बताउनुभयो ।

तपाईको प्रतिक्रिया