काठमाडौं, माघ २३ : नागरिक अगुवाहरूले शुक्रबार बिहान काठमाडौंमा मार्चपास गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले अवैधानिकरुपमा संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बृहत नागरिक आन्दोलनको आयोजनामा मार्चपास गरिएको हो ।
नागरिक समाजका अगुवाहरुले बिहान पद्मरत्न तुलाधर निवास परिसर, लैनचौरदेखि शीतल निवासको निषेधित क्षेत्रसम्म मार्चपास गरेका हुन् । उनीहरुले राष्ट्रपति ज्यू संविधान कहाँ छ?, अवैधानिक नियुक्ति मान्दैनौं, सत्ता कब्दा मुर्दावाद, लोकतन्त्र जिन्दावाद लेखिएका पम्पलेटसहित मार्च पास गरेका थिए ।
संवैधानिक निकायहरूमा गरिएको नियुक्ति अवैधानिक रहेको उनीहरूको भनाइ छ । नागरिक अभियन्ता पद्मरत्न तुलाधरको लैनचौरस्थित निवासबाट राष्ट्रपति कार्यालयसम्म तय गरिएको मार्चपासमा नागरिक अगुवाहरू खगेन्द्र संग्रौला, नारायण वाग्ले, युग पाठक, कृष्ण खनाल, सञ्जीव उप्रेतीलगायत सहभागी छन् । तर प्रहरीले अगाडि बढ्न नदिएपछि उनीहरू अहिले महाराजगन्ज, पानीपाेखरीमा सभा गरिरहेका छन् ।
विभिन्न संवैधानिक निकायका अध्यक्ष र सदस्यका रूपमा सिफारिस गरिएकाहरूलाई बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी थिइन् । शीतल निवासमा उनीहरुलाई शपथ ग्रहण गराइएको थियो । सरकारले गरेको सिफारिस र नियुक्ति विधिविपरीत रहेको भन्दै नेकपाकै दाहाल–नेपाल समूहलगायत दलहरूले पनि विरोध गर्दै आएका छन् ।
नागरिक अगुवाहरुले प्रतिनिधिसभा विघटनविरुद्ध पनि प्रदर्शन गर्दै आएका छन् । केही दिनअघिको नागरिक आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको भन्दै उनीहरु थप आन्दोलित भएका छन् ।