काठमाडौँ, माघ १७ : कोभिड–१९ (कोरोना) कारण बन्द गरिएको सीमा नाकामध्ये ३० वटा नाकाहरू खुला गरिएको छ । भारत र चीनको नेपालसँग जोडिएको ३० वटा नाका खोलिएका गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका अनुसार भारतका २८ र चीनका दुईवटा नाका खोलिएका छन् । कोरोना महामारी नियन्त्रणका लागि चैत १० गतेदेखि भारत र चीनसँग जोडिएका नाकाहरू बन्द गरिएको थियो । यसअघि भारतका १० र चीनका एक नाका खुला गरिएको थियो । नाका खुलेसँगै सर्वसाधारणको आवतजावत बढ्न थालेको छ । नाका खुलेपछि नाका क्षेत्रका होटल व्यवसायी, आयात निर्यातकर्ताहरूले पनि सहजता महसुस गरेका छन् ।
सीमा नाका खुले लगत्तै नेपालकै सबभन्दा ठूलो नाका वीरगञ्ज–रक्सौल क्षेत्रका व्यवसायी तथा सर्वसाधारण खुसी भएका छन् । करिब १० महिनादेखि सीमा नाका बन्द हुँदा व्यवसायी तथा सर्वसाधारणलाई आउजाउमा समस्या भएको थियो । उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य सुवोध गुप्ताले नाका बन्द हुँदा मानिसको आवतजावत त थियो तर सहज नभएको कारण आमजनता तथा व्यवसायीसमेत समस्यामा थियो तर अब यसले केही राहत भएको बताउनुभयो ।
नाका खुल्दा व्यवसायीहरू उत्साहित भएको बताउँदै उहाँले नाका बन्दा हुँदा वैवाहिक कार्यक्रममा समेत प्रभावित भएको बताउनुभयो । सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरिँदै आएको सुरक्षा चेकजाँच कायम राख्नुपर्ने उहाँको धारणा छ ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव माधव राजपालले नाका त खुल्यो तर सर्तसहित खुलेकाले समस्या कायमै रहको बताउनुभयो । विभिन्न सर्तहरू राखिएको छ जुन पूरा गरेर भारतबाट पर्यटकहरू आउन सक्ने वातावरण सिर्जना नभएको उहाँले बताउनुभयो । नाका खुलेको कारण व्यापार व्यवसाय बढ्ने भयो भन्दै उद्योगी गोपाल केडियाले होटल र पर्यटन र यातायात व्यवसायीको व्यवसाय अझ राम्रो हुने बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशस्थित शुक्रबारदेखि खुला भएका चार सीमा नाकामध्ये गौरीफन्टा र गड्डाचौकी नाकाबाट पहिलो दिन एकतर्फी आउजाउ भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नाका खुलेको बारेमा सुरक्षाकर्मीलाई आधिकारिक जानकारी नदिएका कारण दुवै नाकाबाट नेपालीलाई मात्रै आउजाउ गर्न दिइएको हो । नेपाली मात्रैको यसरी आउजाउ विगत केही महिनाअघिदेखि नै हुँदै आएको छ ।
गृह मन्त्रालयले शुक्रबारदेखि गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको खलङ्गा-पुलाघाट नाका खुला गरेको छ । खुला गरिएको नाकाबाट स्वास्थ्य मापदण्ड अपनाएर नेपाल–भारतका नागरिकले आउजाउ गर्न पाउने छन् । गौरीफन्टा र गड्डा चौकी नाकाबाट पहिलो दिन नेपालीको मात्रै आउजाउ भएको छ ।
प्रशासनबाट आधिकारिक जानकारी नआएकाले आज नाका खोलिएन, गौरीफन्टा नाकामा खट्नुभएका सशस्त्र प्रहरी एमडी पन्तले भन्नुभयो, पहिलेको जस्तै नेपालीलाई आउन र जान दिइएको छ ।
सो नाकामा रोजगारीका लागि भारततिर जानेको लामो लाइन लागेको थियो भने, उताबाट फर्किनेको सङ्ख्या न्यून थियो । उपचार र किनमेलका लागि उतातिर गएका नेपाली मात्रै फर्किने गरेको पन्तले बताउनुभयो ।
उहाँका अनुसार शुक्रबार करिब डेढ सय जना नेपाली भारततिरबाट फर्किएका छन् । यसैगरी, झन्डै एक हजार मान्छे यताबाट भारततिर गएका छन् ।
यसैगरी, गड्डाचौकी नाकाबाट बिहान आठदेखि १० बजेसम्म यताबाट नेपालीलाई भारततिर जान दिइएको थिएन । उताबाट भने नेपालीलाई मात्रै दिनभरि आउन दिइएको जनाइएको छ । मेडिकल टिम नाकामा १० बजेसम्म मात्रै बस्ने गरेकाले टिम गएपछि यताबाट नेपालीलाई जान नदिइएको गड्डाचौकीमा खटेका सुरक्षाकर्मीले जनाएका छन् ।
यसैगरी झुलाघाट नाकामा भने विगत केही समयदेखि नै दुवै देशका अधिकारीको सहमतिमा एक÷दुई दिन दुवै देशका नागरिकलाई आउजाउ गर्न दिइएको थियो । सो नाका अब पूर्ण रूपमा खुलेको छ ।
व्यवसायीद्वारा स्वागत
सरकारले गरेको नाका खोल्ने निर्णय स्वागत योग्य रहेको होटल व्यवसायी सङ्घ कैलालीका अध्यक्ष कलमबहादुर बमले बताउनुभयो । हामीले विगतदेखि नै नाका खोल्नु पर्ने माग राख्दै आएको हो र यसका लागि सरकारलाई दबाब पनि दिँदै आएका थियौँ, उहाँले भन्नुभयो । सरकारले ढिलै भए पनि खोल्ने निर्णय ग¥यो, यो सकारात्मक कार्य हो ।
भारतीय पर्यटक आउने अपेक्षा
रुपन्देहीको बेलहिया नाका पनि शुक्रबारदेखि सञ्चालनमा आएको छ । नाका सुचारु भएसँगै यहाँका होटल व्यवसायीहरूले भारतीय पर्यटक आउने अपेक्षा गरेका छन् ।
सिद्धार्थ होटल सङ्घका वरिष्ठ उपाध्यक्ष विष्णु गौतमले बेलहिया नाकाबाट आवतजावत सुचारु भएसँगै पर्यटकीय वातावरण सिर्जना भएको सिद्धार्थ होटल सङ्घका वरिष्ठ उपाध्यक्ष विष्णु गौतमले बताउनुभयो ।
नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन रुपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारीले मालसामान आयात निर्यातमा रोकतोक नभए पनि मानिसहरूको आवागमन बन्द हुँदा पर्यटन क्षेत्र प्रभावित हुँदै आएको बताउनुभयो ।
पर्यटन व्यवसायी खुसी
कोरोना सङ्क्रमणका कारण लामो समयसम्म बन्द रहेको नेपाल–भारत सीमा क्षेत्र विराटनगरको रानी नाका खुलेसँगै पूर्वका पर्यटन व्यवसायी उत्साहित बनेका छन् ।
सीमा नाका बन्द हुँदा छिमेकी भारतको विहारबाट नेपालमा घुम्न आउने पर्यटक प्रभावित भएको भन्दै गुनासो गरिरहेका होटल व्यवसायीहरू उत्साहित भएका हुन् । जोखिमकै कारण सरकारले लामो समयसम्म नाका खोल्न सकेन, होटल एसोसिएसन नेपालका प्रदेश–१ का अध्यक्ष राजन श्रेष्ठले भन्नुभयो, बल्ल अलिक श्वास फेर्न सक्ने अवस्था भयो ।
उहाँका अनुसार दैनिक विराटनगरको रानी (जोगबनी) नाका हुँदै नेपाल प्रवेश गर्ने पर्यटकको भरमा चलेका होटलहरू यसबीचमा निक्कै प्रभावित बनेका थिए । सरकारको निर्णयसँगै पर्यटन क्षेत्र पुनः लयमा फर्कनेमा अध्यक्ष श्रेष्ठको विश्वास छ ।
प्रदेश १ मा घुम्न आउनेमध्ये ७० प्रतिशत पर्यटक भारतीय रहेकोले सीमा जोडिएका जिल्ला मात्रै नभई पहाडी तथा हिमाली क्षेत्रका जिल्लामा सञ्चालित होटल व्यवसायमा समेत प्रभाव परेको व्यवसायीहरू बताउँछन् ।
सवारी साधनबारे अन्योल
बन्द रहेको नेपाल भारत सीमानाका ३० नाकाहरूलाई सरकारले खोल्ने निर्णय गरे पनि सवारी साधनको बारेमा ठोस निर्णय नगरिँदा सिमानामा अन्योल उत्पन्न भएको छ ।
सरकारले सिमाना पूर्ण रूपमा खोल्ने निर्णय गरे पनि कार, मोटरसाइकललगायतका निजी सवारी साधन ल्याउने लैजानेबारे कुनै प्रस्ट निर्णय नभएकोले अन्योल भएको सरोकारवालाहरूले बताएका छन् । उहाँले नेपालगञ्ज नाकाबाट नेपाल र भारत दुवै देशका नागरिकलाई सहज रूपमा आवागमन गर्न दिइने बताउनुभयो ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले देशका ३० वटा नाकालाई आवागमनका लागि खोलिएको जनाउँदै व्यावसायिक सामान बोकेर ल्याउने सवारी साधनबाहेकका सवारी साधनका हकमा भने अनुमति लिएर मात्र ल्याउन लैजान पाइने बताउनुभयो ।