काठमाडौं, पुस ६ : प्रतिनिधिसभा विघटन गर्ने सरकारी कदमको विरोध गर्दै सोमबार प्रदर्शनमा उत्रिएका अधिकारकर्मी र एवं नागरिक अगुवाहरूलाई प्रहरीले पक्राउ गरेको छ । सिंहदरबारको दक्षिणी गेटमा विरोध प्रदर्शन गरेका उनीहरूलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा पुर्याइएको छ ।
सोमबार बिहान प्रदर्शनको लागि सिंहदरबार अघि पुगेका समाजका संस्थापक सभापति कृष्ण पहाडी नेतृत्वको टोलीलाई प्रहरीले धरपकड गरी नियन्त्रणमा लिएको हो । उनीहरूले ‘संसद विघटन लोकतन्त्रको सबैभन्दा ठूलो उपहास हो,’ प्रतिनिधि सभा विघटन असंवैधानिक अलोकतान्त्रिक र स्वेच्छाचारी’ लेखिएको प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।
पक्राउ पर्नेमा मानवअधिकार तथा शान्ति समाजका सभापति उत्तम पुडासैनी, नागरिक अगुवा कृष्ण पहाडी, मानवअधिकारकर्मी कृष्ण कँडेलसहित १६ जना छन् । उनीहरूले संविधानसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक रहेको भन्दै ‘संसद् विघटन लाेकतन्त्रको सबैभन्दा ठूलो उपहास’ भएको जनाएका छन् । सरकारको उक्त कदमको सत्तारूढ नेकपा र अन्य राजनीतिक दलले पनि विरोध जनाएका छन् ।