काठमाडौँ, कात्तिक २० : काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्रका कुनै पनि खुला र सार्वजनिक स्थलमा निःशुल्क भोज खुवाउने काम नगर्न आग्रह गरेको छ । महानगरले दाता र सहयोगी स्वयंसेवकलाई समन्वय गरेर मात्र काम गर्न अनुरोध पनि गरेको छ ।
अहिले खुलामञ्चमा खाना खुवाइरहनु भएकालाई पार्टी प्यालेसलगायतका ठाउँमा खाना खुवाउने व्यवस्था गर्न अनुरोध गरेको छ । महानगरले यसका लागि पार्टी प्यालेसको भाडा आफैँ तिरिदिने जनाएको छ । राष्ट्रिय सभागृहमा बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा महानगर प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, ‘‘खाना खुवाउने गरेको प्रचारबाट काठमाडौँ मागी खानेको सहरका रूपमा चित्रित हुने गरेको छ, त्यसले हामीलाई चिन्तित बनाएको छ, काठमाडौंँलाई मागी खानेको सहर होइन, गरी खानेको स्वाभिमानी सहरका रूपमा चिनाउनुपर्छ ।’’
‘खाना खुवाएको तस्बिर र भिडियो सामाजिक सञ्जाल राखेर मानवीय संवेदनामा खेलवाड भएकोप्रति चिन्ता व्यक्त गर्दै प्रमुख शाक्यले ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने काठमाडौँ महानगरपालिकाको नीति रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘‘महानगर कार्यपालिकाको बैठकबाट जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ नै स्वीकृत गरेका छौँ र यस कार्यविधिले खान नपुग्ने जो कोहीलाई पनि काम र त्यसबापतको पारिश्रमिक दिन सकिनेछ,” काम आवश्यक पर्नेले वडा कार्यालयमा सम्पर्क गरे सार्वजनिक पूर्वाधार विकास, सार्वजनिक पूर्वाधार मर्मत सम्भार, ढल निकास तथा फुटपाथ व्यवस्थापन, सम्पदा संरक्षण र सौन्दर्यीकरणजस्ता क्षेत्रमा काम दिने व्यवस्था गरिएको स्पष्ट पार्नुहुँदै प्रमुख शाक्यले थप्नुभयो, ‘‘कसैले पनि मागेर खान पर्दैन, स्वामिमानपूर्वक श्रम गरेको पैसाले जीवन निर्वाह हुन्छ ।’’
प्रमखुु शाक्यले बन्दाबन्दीको अवधिमा वडामार्फत बेरोजगार, अशक्त र असहाय वर्गका एक लाख ५० हजारभन्दा बढी परिवारलाई राहतस्वरूप खाद्यसामग्री र दुई लाख ५० हजार व्यक्तिलाई खाना पकाएर खुवाएको जानकारी दिनुभयो । उहाँले बिरामी, अशक्त र बेसहाराको संरक्षणका लागि मानवसेवा आश्रमसँग सहकार्य गरेर त्यसवर्गका मानिसको उद्धार, औषधोपचार र लालनपालन गरिरहेको बताउनुभयो । प्रमुख शाक्यले समस्यामा परेका श्रमिक, गरिब र असहायको सेवामा निरन्तर खटिरहनु भएका विभिन्न सङ्घ–संस्था र व्यक्तिलाई अहिलेसम्म गरेको मानवीय सेवाका लागि गरेको कामको प्रशंसा पनि गर्नुभयो ।
सम्मेलनमा वडा नं. १६ का अध्यक्ष मुकुन्द रिजालले भन्नुभयो, ‘‘श्रम संस्कृतिको विकास गरौँ, काम गर्न सक्ने व्यक्तिलाई निःशुल्क भोजन गराउनु दिगो काम होइन, यसले व्यक्तिको उत्पादनशीलता घट्छ, हामीले बन्दाबन्दीका समयमा आफैंँ लागेर खाद्यसामग्री बाँडेका थियौँ, खाना पकाएर खुवाएका थियौँ, त्योभन्दा श्रममा आधारित सहयोग दिगो हुने देखेर निःशुल्क भोजनको व्यवहार छोडेका हौँ । ’’