पूर्ण तथा आशिंक गरी नेपालका ३९ जिल्लामा निषेधाज्ञा

  भदौ ०१, २०७७

काठमाडौं, भदौ १ : स्थानीय प्रशासन तथा स्थानीय तहले आवश्यकताको आधारमा ३९ जिल्लामा पूर्ण तथा आशिंक रुपमा निषेधाज्ञा भएको गृह मन्त्रालयले जनाएको छ । मुलुकभर कोभिड–१९ को फैलन थालेसँगै स्थानीय प्रशासन तथा स्थानीय तहले पूर्ण तथा आंशिक लकडाउन गरेका हुन् ।

गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता चक्रबहादुर बुढाले ३९ जिल्लामा फरक फरक प्रकारले निषेधाज्ञा जारी गरिएको बताउनुभयो । जिल्लामै सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि कतै जिल्ला प्रशासन कार्यालयबाटै सूचना जारी भएर निषेधाज्ञा लगाइएको छ भने अधिकांश स्थानीय तहले आफूले स्वतःस्फूर्त रुपमा लकडाउन गरेका छन् ।

उहाँ अनुसार सोमबार दिउँसोसम्म ३९ जिल्लामा आंशिक तथा पूर्ण रुपमा निषेधाज्ञा जारी भएका छन् । २८ जिल्लामा स्थानीय प्रशासनले संक्रामक रोग नियन्त्रण ऐनअनुसार निषेधाज्ञा जारी गरिएको उहाँले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।

पर्सा, सप्तरी, बाँके, बारा, सुनसरी, सर्लाही, स्याङ्जा, बर्दिया, रौतहट, कपिलवस्तु, दोलखा, नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, गोरखा, रामेछापमा जिल्लाभरि नै लागू हुने गरी निषेधाज्ञा जारी भएको छ ।

यता, चितवन, पाल्पा, सुर्खेत, धनकुटा, उदयपुर, तनहुँ, पश्चिम रुकुम, धादिङ, मकवानपुर, कञ्चनपुर, झापा, दार्चुला, मोरङ, बझाङ, जुम्ला, सिराहा, महोत्तरी, धनुषा, काभ्रेपलाञ्चोकमा आंशिक रुपमा लकडाउन रहेको छ । त्यो क्रम निरन्तर रुपमा बढिरहेको प्रवक्ता बुढाले बताउनुभयो । आफ्नो स्थानीय तहमा जोखिमको आधारमा स्थानीय तहले निषेधाज्ञाको फरक फरकशैली अपनाएका छन् ।

निरन्तर कोरोना सङ्क्रमितहरुको संख्यामा वृद्धि भएपछि कोरोनाको नयाँ हटस्पटको रुपमा विकास भएको काठमाडौं उपत्यकामा भने निषेधाज्ञा जारी गरिएको छैन । सवारी साधनहरुमा जोर बिजोर रेस्टुरेन्ट, सैलुन र जिमखाना पूर्ण रूपमा बन्द गरिएका छन् । उपत्यकाभित्र १३ ओटा समुहले निगरानी र अमुगमनमा राखिएको छ ।

नेपाल, प्रहरी, सशस्त्र प्रहरी, जिल्ला प्रशासन कार्यालयको अधिकृत, स्वास्थ्यकर्मी सम्मिलित टोलीले मास्कको प्रयोग जोर बिजोर, होटेल, मल तथा रेष्टुराँहरुको अनुगमन गर्ने गृह मन्त्रालयका प्रवक्ता बुढाले बताउनुभयो । आवश्यकता हेरेर स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा थप कडाई गर्न सक्ने प्रवक्ता बुढाले बताउनुभयो ।

सङ्क्रमितहरुको संख्या बढ्दै गएसँगै काठमाडौं, मोरङ, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र बाँके जोखिम क्षेत्रमा परेका छन् । पाँचवटा जिल्ला अहिले कोरोनाको संक्रमणवाट सुरक्षित छन् ।

तपाईको प्रतिक्रिया