गुल्मी, ९ कात्तिक : गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोरमा स्कारपियो दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
स्याङ्जाको चिरकोटबाट राक्सेतर्फ जाँदै गरेको बीएए ०२२० नम्बरको स्कारपियो सडकबाट करिब २५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा चालक दिलिप कुमार बागाले, शिव पराजुली, लोकनाथ पाण्डे, सिता पाण्डे र कुलानन्द पाण्डेको घटनास्थलमै मृत्यु भएको हो । निता बगालेको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका छविलाल पाण्डे, स्याङ्जाको वालिङकी गोमता पाण्डे र बालकृष्ण सुवेदी घाइते भएका छन् । छविलालको अवस्था गम्भीर, गोमताको मध्यम रहेको छ भने सुवेदीको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा उपचार भइरहेको छ ।
घटनापछि नेपाल प्रहरीका विभिन्न टोली उद्धारमा खटिएका थिए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






