कोरोना संक्रमणको त्रास : कतै लकडाउन, कतै निषेधाज्ञा, कतै जोर बिजोर

  भदौ ०१, २०७७

काठमाडौं, भदौ १ : कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि देशभरका विभिन्न स्थानीय तहले लकडाउन र निषेधाज्ञा जारी गरेका छन् । पछिल्लो समय देशभर कोरोना संक्रमित संख्या बढ्दै गइरहेकाले लकडाउन र निषेधाज्ञा जारी गर्नुपरेको हो ।

मध्यपुरथिमि नगरपालिकाले आजबाट लकडाउन गरेपछि नगरपालिका क्षेत्र ठप्प भएको छ । समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि नगरपालिकाले आगामी भदौ ९ गतेसम्मका लागि लकडाउन गरेको हो ।

नगरपालिका क्षेत्रभित्र हालसम्म ४१ जना कोरोना सङ्क्रमित पुष्टि भएपछि नगरपालिकाले लकडाउन गरेको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । पसल, व्यवसाय ठप्प भएको छ । अत्यावश्यक सामान खाद्यान्न, पानी, ग्यास र औषधि पसल बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टा मात्रै खोल्न दिएको छ ।

लकडाउन अवधिभर नगरपालिका क्षेत्रमा पर्ने अरनिको राजमार्गको पूर्वतर्फ हनुमन्ते नदी राधेराधेदेखि पश्चिमतर्फ जडीबुटी मनोहरा पुलसम्म कुनै पनि सवारी साधनले मानिस चढाउन र ओराल्न समेत दिएको छैन ।

अरनिको राजमार्गमा कुनै पनि सवारीसाधन रोक्न, यात्रु चढाउन र ओराल्न नपाइने गरी लकडाउन गरिएको जानकारी दिँदै प्रमुख श्रेष्ठले नगरपालिका क्षेत्रभित्रका सडकमा अत्यावश्यक सवारी साधनबाहेकका सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक जानकारी दिनुभयो ।

नगरपालिकाद्वारा सञ्चालिन नेपाल कोरियामैत्री नगरपालिका अस्पतालसमेत सिल गरेपछि आकस्मिक बाहेकका सम्पूर्ण सेवा रोकिएको छ । अस्पतालमा कार्यरत तीन नर्स र एक सहयोगी गरी चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल शनिबार सिल गरिएको थियो । आजबाट नै आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको हो ।

सिरहाका १७ वटै स्थानीय तहमा लकडाउन
कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि जिल्ला सङ्कट व्यवस्थापन समिति सिरहाले जिल्लाको १७ वटै स्थानीय तहमा आज बिहानदेखि भदौ १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको अध्यक्षतामा बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सिरहाको १७ वटै स्थानीय तहले आ–आफ्नो पालिकाभित्र १५ दिनका लागि लकडाउन गर्ने निर्णय गरेको हो । समितिको निर्णयअनुसार लकडाउन गर्न सबै पालिकालाई पत्राचार गरिसकेको प्रजिअ कँडेलले बताउनुभयो ।

यसैबीच कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिन नदिन सिरहा नगरपालिका र गोलबजार नगरपालिकाले जारी गरेको लकडाउनलाई आजदेखि दुई साता थप गरिएको छ । सिरहा नगरपालिकाले आज बिहानदेखि १५ दिन थप लकडाउन गर्ने निर्णय गरेको छ । प्रजिअ कँडेलको अध्यक्षतामा बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार कोरोना सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि आजदेखि भदौ १५ गतेसम्म लकडाउन थप गरिएको सिरहा नगरपालिकाका प्रमुख अशेश्वर यादवले जानकारी दिनुभयो ।

यसअघि सो नगरपालिकाले साउन २५ गते राति १२ बजेदेखि साउन ३२ गतेसम्म लगाइएको लकडाउन गए राति १२ बजे सकिएपछि आज बिहानबाट लकडाउनको अवधि भदौ १५ गते राति १२ बजेसम्मका लागि थप गरिएको नगरप्रमुख यादवले बताउनुभयो ।

त्यसैगरी गोलबजार नगरपालिकाले पनि लकडाउन दुई साताका लागि थप गरेको छ । गोलबजार नगरपालिकाले आज बिहानदेखि भदौ १५ गतेसम्मका लागि लकडाउन थप गरिएको नगरप्रमुख देवनाथ साहले जानकारी दिनुभयो । नगरभित्र अति आवश्यक औषधि पसल, ढुवानी सेवा, एम्बुलेन्स तथा अत्यावश्यक इमर्जेन्सी गाडी चल्ने गरी लकडाउनको समय बढाइएको गरिएको छ ।

यस्तै कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको भन्दै भूमिसुधार तथा मालपोत कार्यालय लहानले आजदेखि भदौ १५ गतेसम्म अत्यावश्यक कामबाहेक सम्पूर्ण कार्य बन्द गरेको छ । कार्यालयले सूचना प्रकाशित गरी आजदेखि १५ दिनका लागि कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सबै काम बन्द गरिएको जनाएको छ ।

जुम्लामा पनि निषेधाज्ञा
जुम्लाको सदरमुकाम खलङ्गा चन्दननाथ नगरपालिकासहित जिल्लाका तातोपानी, हिमा, सिञ्जा गुठीचौर र कनकासुन्दरी गाउँपालिमा पुनः निषेधाज्ञा जारी गरिएको छ । समुदायमा कोरोना भाइरस फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले नगरपालिकासहित स्थानीय तहमा निषेधाज्ञा जारी गरेको हो ।

चन्दननाथ नगरपालिका भने सिल नै गरिएको छ । बजार क्षेत्र भएको नगरपालिकाको पूर्वमा दानसाँघु, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय, दक्षिणमा तिलानदी र पश्चिममा गमगाड क्षेत्रभित्रका औषधि पसलबाहेक अन्य सम्पूर्ण पसल पूर्णरूपमा बन्द गरिएको छ । पातारासी गाउँपालिकामा भने यसअघि नै निषेधाज्ञा गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जारी गर्नुभएको निषेधाज्ञामा साउन ३२ गते राति १२ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको जनाइएको छ । स्थानीय प्रशासनले सङ्क्रमण रोग ऐन, २०२० को २(२) र स्थानीय प्रशासन ऐन २०२८, को ६ (३) बमोजिम निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञामा विभिन्न स्थानमा स्वाब सङ्कलन गर्दा समुदायमा कोरोना फैलिनबाट रोक्न, सङ्क्रमण हुन नदिन निषेधाज्ञा गरिएको हो ।”

यसैगरी कुनै पनि भेला नगर्नसमेत निर्देशन गरिएको छ । तीज नजिकिँदै गर्दा विभिन्न स्थानमा हुने भेला, गाउँमा धार्मिक मेला र राजनीतिक भेलाले जोखिम बढेको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो ।

मकवानपुरमा पुनःनिषेधाज्ञा जारी
जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला सुरक्षा समितिको सहमति र परामर्शअनुसार पुनः निषेधाज्ञा जारी गरेको छ । जिल्लाको पूर्व–पश्चिम राजमार्गको मनहरिसम्म र हेटाँैडा उपमहानगरपालिका क्षेत्रको विभिन्न वडामा कोभिड–१९ सङ्क्रमण फैलिएको र सो सङ्क्रमणलाई नियन्त्रणमा ल्याउन पुनः भदौ १ गतेदेखि ९ गते राति १२ बजेसम्म निषेधाज्ञा पुनः जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले यसअघि साउन २६ गते राति १२ बजेदेखि आज राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको भए पनि जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले पुनः निषेधाज्ञा जारी गर्न बाध्यता भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका अध्यक्ष तथा प्रजिअ दीपकराज नेपालले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा आज बिहान बसेको कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो । बैठकले निषेधाज्ञा जारी गरिएअनुसार बाहेक जिल्लामा दैनिक सभा, सम्मेलन, गोष्ठी, धार्मिक पर्वलगायत अन्य भिडभाड हुने कार्यक्रम नगर्नसमेत आदेश जारी गरिएको र जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार, निषेधाज्ञा अवधिभर बिहान ५ बजेदेखि बिहान ९ बजेसम्म सर्वसाधारणलाई आवश्यक खाद्यान्न, इन्धन, औषधिलगायत अतिआवश्यक वस्तु खरिद गर्न समय निर्धारण गरिएको र सर्वसाधारणले दैनिक प्रयोग गर्दै आएको सार्वजनिक यातायात, निजी यातायात, र मोरटसाइकललाई निषेधाज्ञा जारी भएअनुसार सञ्चालनमा कडा रोक लगाइएको बताउनुभयो ।

सो बैठकले मकवानपुरको मनहरि गाउँपालिका क्षेत्र पूर्व–पश्चिम महेन्द्र राजमार्गलगायत हेटौँडा उपमहानगरपालिका क्षेत्रका १ देखि १९ वटै वडासम्ममा सोही मितिसम्म निषेधाज्ञा जारी गरिएको आदेशलाई उल्लङ्घन गरेको पाएमा कानूनी कारवाही अघि बढाइने भएको प्रजिअ नेपालले जानकारी दिनुभयो । बैठकले मकवानपुर जिल्लाभर धार्मिक, सांस्कृतिक, विवाह, सभा–समारोह, जन्मोत्सव पर्वलाई निषेध गरिएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

हेटौँडामा निषेधाज्ञा थपियो
मकवानपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि मकवानपुरको हेटाँैडा उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र तथा मनहरि गाउँपालिकाको राजमार्ग क्षेत्रमा आजदेखि ९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

यसअघि साउन २६ गतेदेखि साउन ३२ सम्म निषेधाज्ञा जारी भएको थियो । हेटौँडास्थित जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कोरोना सङ्कट व्थवस्थापन केन्द्रको आज बसेको बैठकले नौ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको बताइएको छ ।

कोरोना भाइरस जनस्तरमा फैलिन थालेपछि जनताको स्वास्थ्य सुरक्षाका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले भन्नुभयो । निषेधाज्ञा विगतको तुलनामा कडा पारिने उहाँका भनाइ छ । निषेधाज्ञाको समयमा बिहान ५ बजेदेखि बिहान ८ बजेसम्म पसल खुला रहने छ ।

त्यस अवधिमा हेटौँडाका खाद्यान्न, तरकारी र फलफूलका पसल सञ्चालन हुने बताइएको छ । साथै हेटाँैडा उपमहानगरपालिका तथा प्रहरीद्वारा माइकिङ गरी निषेधाज्ञाको पालना गर्न टोल तथा बजारमा सूचनासमेत जारी गरेको पाइएको छ । त्यसैगरी सुरक्षा सतर्कता पनि बढाइएको छ । जिल्ला बाहिरबाट भित्र तथा जिल्ला भित्रबाट बाहिरको आवागमनममा पनि रोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

धनुषामा लकडाउन अवधि थपियो
जिल्ला प्रशासन कार्यालयले धनुषामा एक साताका लागि लकडाउन थपेको छ । कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेकाले आज राति १२ः०० बजेपछि लकडाउनको अवधि सकिन लागेपछि पुनः भदौ ७ गतेसम्मका लागि लकडाउन अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईद्वारा आज जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गराउनका लागि स्थानीय प्रशासन ऐन दफा २०२८ ६(३) अनुसार सो आदेश जारी गरिएको हो । लकडाउनको अवधिमा बिहान १०ः०० बजेसम्म मात्र पसल सञ्चालन गर्न पाउने छन् । व्यापार र व्यवसाय सञ्चालन गर्दा बिक्रेताले पञ्जा, मास्क र स्यानिटाइजर प्रयोग गर्नुका साथै सामाजिक दूरी कायम गर्नुपर्ने तथा क्रेतालाई अनिवार्य रुपमा मास्क प्रयोग गर्ने विषयमा सो विज्ञप्तिमार्फत सचेत गराइएको छ ।

धनुषामा कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर रुपमा वृद्धि हुन थालेपछि स्थानीय प्रशासनले यही साउन १९ गतेदेखि शुरु गरेको एक साताको लकडाउनको अवधिमा एक–एक साता थपिँदै गएको छ ।

चितवनका पाँच स्थानीय तहमा निषेधाज्ञा
जिल्ला प्रशासन कार्यालयले थप पाँच स्थानीय तहमा आज राति १२ः०० बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्वारा आज जारी एक सूचनामा भदौ ५ गतेसम्मका लागि रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकासँगै इच्छाकामना गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम निषेधाज्ञा जारी गरिएका स्थानीय तहको सम्पूर्ण क्षेत्रभित्र लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो । भरतपुर महानगरपालिकामा अहिले निषेधाज्ञा जारी रहेकाले यसलाई यथावत राख्दै माडी नगरपालिकाबाहेक जिल्लाका सबै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको उहाँले बताउनुभयो । आदेशको अवज्ञा गरिएमा प्रचलित कानून बमोजिम कारवाही गरिने उहाँले जानकारी दिनुभयो । पछिल्लो समय जिल्लामा कोभिड–१९ सङ्क्रमण फैलिँदै गएकाले यसलाई नियन्त्रण गर्न निषेधाज्ञा गर्नुपरेको उहाँको भनाइ छ ।

हालसम्म जिल्लामा १९९ जनामा सङ्क्रमण देखिएकामा एक जनाको मृत्यु भएको छ । ११३ जनामा सङ्क्रमण निको भएको छ भने ८५ जना उपचाररत छन् । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि शुक्रबार रातिबाट महानगर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द गरिएको छ । घरायसी सामग्री खरिदका लागि बिहान र बेलुका ५ः०० बजेदेखि ८ः०० बजेसम्म पसल खोल्न दिइने भएको छ ।

पूर्वी चितवनका चार स्थानीय तहमा पनि निषेधाज्ञा
पूर्वी चितवनको रत्ननगर, खैरहनी, कालिका र राप्ती नगरपालिकाका प्रमुख र सुरक्षा निकायसहित आज बसेको संयुक्त बैठकले पूर्वी चितवनको सबै क्षेत्रमा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो ।

राप्ती नगरपालिका प्रमुख प्रभा बरालका अनुसार बैठकमा आज राति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइएको बरालले बताउनुभयो ।

उहाँले भन्नुभयो “कोरोनाको महामारी फैलिएको छ । अब निषेधाज्ञा जारी नगरे हिँडडुल रोक्न सकिएला जस्तो छैन ।” प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पूर्वी चितवनका चारवटा नगरपालिकाले संयुक्त बैठक बसेर निषेधाज्ञाको अनुरोध गरेको बताउनुभयो । यस संगै प्रशासनले आजै सूचना जारी गरि निषेधाज्ञा गर्ने भएको छ ।

त्यस्तै बैठकले बकुलहर रत्ननगर अस्पतालमा कोरोना आइसोलेसन बनाउने र रत्ननगरमा समेत कोरोना परीक्षणको लागि प्रयोगशाला माग गर्ने निर्णय गरेको वरालले जानकारी दिनुभयो ।

तनहुँको तीन पालिकामा लकडाउन
कोरोना जोखिम बढेपछि तनहुँका तीन वटा पालिकाले लकडाउन घोषणा गरेका छन् । बन्दीपुर, देवघाट गाउँपालिका र भानु नगरपालिकाले आ–आफ्नो पालिकाभित्र लकडाउन घोषणा गरेका हुन् ।

बन्दीपुर गाउँपालिकाले शुक्रबारदेखि भदौ ५ गतेसम्म अत्यावश्यक सेवा बाहेकका सबै पसल, बैङ्क तथा वित्तीय संस्था लगायत बन्द गर्ने निर्णय गरेको अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो ।

“स्थानीय स्तरमा तीव्र रुपमा फैलिएको कोभिड–१९ का कारण बन्दीपुर गाउँपालिकाभित्रका बजार, बस्ती उच्च जोखिममा रहेको छ,” उहाँले भन्नुभयो, “यसैलाई मध्यनजर गर्दै एक हप्ताका लागि सम्पूर्ण क्षेत्र बन्द गरेर लकडाउन घोषणा गरेका छौ ।”

अध्यक्ष थापाले सम्पूर्ण नागरिकलाई न्यूनतम स्वास्थ्य मापदण्ड पालना गर्न, अति आवश्यक काम बाहेक अन्य काममा घर बाहिर ननिस्कन अनुरोध गरिएको जानकारी दिनुभयो । भानु नगरपालिकाले साउन २७ गतेदेखि भदौ २ गतेसम्म र देवघाट गाउँपालिकाले साउन २८ गतेदेखि भदौ ४ गतेसम्म पालिकामा लकडाउन गर्ने निर्णय गरेको छ ।

दमकमा एकहप्ता बन्दाबन्दी
समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण बढेको भन्दै झापाको दमकमा आज रातिदेखि लागू हुने गरी एक हप्ता बन्दाबन्दी हुने भएको छ । कोरोना रोकथाम नियन्त्रण तथा समन्वय समितिको आज नगरपालिकामा बसेको बैठकले नगरमा समेत सङ्क्रमणको जोखिम बढेको भन्दै भदौ ६ गते राति १२ बजेसम्म पूर्ण बन्दाबन्दी गर्ने निर्णय गरेको हो ।

बन्दाबन्दी अवधिमा एम्बुलेन्स, प्रेस, दूधका गाडीबाहेक सबै यातायातका साधन बन्द रहने छन् । दूधका पसल दैनिक बिहान ६ बजे देखि ८ बजेसम्म मात्रै खोल्न पाइने, बैंक, वित्तीय संस्था, फुटपाथका पसल, किराना पसललगायतका सबै प्रकारका पसल व्यवसाय बन्द रहने नगर उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले जानकारी दिनुभयो ।

बन्दाबन्दीका क्रममा अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन नपाइने, एम्बुलेन्स बाहेकका सवारी साधनले बिरामी बोक्न परे सम्बन्धित वडाबाट सिफारीस लिनुपर्ने, मोटरसाइकल कुनै सवारीसाधन सञ्चालन गर्न नपाइने उहाँले बताउनुभयो । हिजो दमकमा एकैपटक सात जनामा कोरोना सङ्क्रमण पुष्टी भएको थियो ।

योसँगै दमकमा सङ्क्रमितको सङ्ख्या २० पुगेको छ । सङ्क्रमित समुदायमा हेलमेल भएका र समुदायमा कोरोना सङ्क्रमणको जोखिम उच्च बनेको भन्दै उनीहरुको कन्ट्र्याक ट्रेसिङ गरिने उपप्रमुख अधिकारीले बताउनुभयो ।

यसअघि दमक उद्योग वाणिज्य सङ्घले पनि आज राति १२ बजेपछि अत्यआवश्यक बाहेक सबै प्रकारका पसल तथा व्यवसाय बन्द गर्ने निर्णय गरेको थियो । पछिल्लो समय दमकसहित देशैभरि कोरोनाको सङ्क्रमण समुदायस्तरमा फैलिँदै गएपछि झापा, दमकका व्यवसायीले जोखिम हुन नदिन भन्दै पसल आफैँ बन्द गर्न थालेका छन् ।

दमकमा समुदायमा कोरोना सङ्क्रमण देखिएसँगै यहाँका व्यवसायीले आफ्ना पसल, व्यवसाय स्वतःस्फूर्त बन्द गर्न थालेका हुन् । दमकको चौक आसपासका भिडभाड हुने स्थानका व्यापार तथा व्यवसाय सङ्क्रमण फैलिन नदिन भन्दै खनाल मार्केट पाँच दिनका लागि स्वतःस्फूर्त बन्द गर्ने निर्णय गरेका हुन् ।

बुटवल उपमहानगरपालिकामा अनिश्चितकालीन सेवा बन्द
बुटवल उपमहानगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आजदेखि अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ ।

उपमहानगरपालिकामा कार्यरत तीन अधिकृत र एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टिसँगै स्वास्थ्य, सरसफाइ र दमकल जस्ता अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले आज जरुरी सूचना जारी गरेर तोकिएका बाहेक सबै सेवा बन्द गरिएको जनाउनुभएको छ ।

तपाईको प्रतिक्रिया