काठमाडौँ, ९ असोज : कृषि विभागले हुरीबताससहित भारी वर्षाको सम्भावना रहेकाले बाली र भण्डारण गरिएका अनाजमा हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सावधानी अपनाउन आग्रह गरेको छ ।
मौसममा देखिएको फेरबदल तथा अविरल वर्षाका कारण धानबालीलगायत अन्य उत्पादनको संरक्षणका लागि किसानलाई सतर्कता अपनाउन विभागले आग्रह गरेको हो ।
भित्र्याउन तयार भएको धानलाई केही दिन परिपक्व भएपछि मात्र काट्न तथा काटेर भित्र्याउन छोडेको धानलाई हावा खेल्ने ठाउँमा राख्न र धानखेतको विभिन्न ठाउँबाट पानीको निकासका लागि आवश्यक प्रबन्ध गर्न किसानलाई सूचित गरेको छ । भण्डारण गरिएका खाद्य वस्तुको नियमित अनुगमन गर्न अनुरोध गरिएको विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभयो ।
यस्तै, उच्चपहाडी क्षेत्रमा भाँच्ने बेला भएको मकै तुरुन्त भाँचेर ओतमा राखी हावा खेल्ने ठाउँमा फिजाउन भनिएको छ । कृषि सञ्चार तथा मानव संसाधन विकास केन्द्रले गोठ, खोरका छाना हुरीबतासले उडाउन नसक्नेगरी बलियोसँग बाँधेर वा भार राखेर सुरक्षित गर्न, आफ्ना पशुचौपायालाई अग्लो र सुरक्षित स्थानमा सार्न सन्देश प्रवाह गरेको छ ।
किसानका बाली तथा उत्पादनलाई क्षति कम गर्न जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा प्रकाशित बुलेटिनका आधारमा आवश्यक सूचना तथा सन्देश पठाइने केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिनुभयो ।
कञ्चनपुरमा तटीय क्षेत्रमा पूर्वसचेतना
भारी वर्षाको पूर्वानुमान गरिएपछि कञ्चनपुरको महाकाली नदी किनारका तटीय बस्तीमा पूर्वसचेतना अभियान सञ्चालन गरिएको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रहरीले महाकाली नदीको तटीय क्षेत्रमा सचेतनाका लागि माइकिङ गरिरहेको नगर उपप्रमुख निलम लेखक जोशीले जानकारी दिनुभयो ।
“बाढी तथा डुबानबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि बस्ती–बस्तीमा पुगेर सचेतना अभियान नै चलाइएको छ”, उहाँले भन्नुभयो, “पूर्वानुमानसँगै भीमदत्त नगरपालिका क्षेत्रका निजी तथा संस्थागत विद्यालयमा बिदा दिइएको छ ।”
जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बिहीबारको बैठकले विपद्का बेला उद्धार, राहत र नागरिकको सुरक्षालाई ध्यानमा राखेर आवश्यक कदम चाल्ने तयारी गरेको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जिल्लाका सबै पालिकामा विपद् प्रतिकार्यका लागि सुरक्षा संयन्त्रसहित आवश्यक तयारी गरिएको बताउनुभयो । उहाँले यहाँको खल्ला मसेटी, महाकाली नदी छेउछाउ र दोदा नदीलगायतका खोलानालामा बाढी आउनसक्ने भन्दै सचेत रहन पालिका, वडा र प्रहरी प्रशासनबाट माइकिङ भइरहेको बताउनुभयो ।
उहाँले बिहीबार उच्च सतर्कता अपनाउन अनुरोधसहितको सूचनासमेत जारी गरिएको बताउँदै भारी वर्षाका बेला यात्रा नगर्न, महाकाली, जोगबुढा, मछेली, दोदालगायत नदीकिनार, तटीय क्षेत्र डुबान हुनसक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको जानकारी दिनुभयो ।
यस्तै, कञ्चनपुरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले विपद्का बेला हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी गरेको जनाएका छन् ।
खोला किनारका बस्तीमा पूर्वसूचना र निगरानी बढाइयो
भारी वर्षाको सम्भावनासँगै झापाका नदी तथा खोला किनारका बस्तीमा सशस्त्र प्रहरीले पूर्वसूचना, निगरानी र उद्धार तयारीलाई तीव्र बनाएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले असोज ११ गतेसम्म भारी वर्षाको सम्भावना औँल्याएपछि सशस्त्र प्रहरीले यहाँको मेची, कनकाई, रतुवा र बिरिङ खोलालगायतका आसपासका गाउँबस्तीमा विपद्जन्य जोखिमबारे सचेतनामूलक माइकिङ सुरु गरेको हो ।
बिहीबारदेखि सुरु गरेको माइकिङलाई आगामी दिनमा पनि निरन्तरता दिइने सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वार्टर झापाले जनाएको छ । गणका सूचना अधिकारी जोगेन्द्र केसीका अनुसार सम्भावित बाढी तथा डुबानको जोखिमलाई ध्यानमा राखेर खोला तथा नदीको नियमित निगरानी, जोखिमयुक्त क्षेत्रको पहिचान र पेट्रोलिङलाई प्राथमिकता दिइएको छ ।
उहाँका अनुसार पुल, तटबन्ध, कमजोर किनारा, नदी तथा खोला आसपासका बस्ती र डुबान हुनसक्ने स्थानमा विशेष निगरानी गरिनेछ । पानीको सतह र बहावको अवस्था तथा तटबन्धको अवस्थासमेत नियमित अवलोकन गरी जोखिम देखिए तत्काल सम्बन्धित युनिटमा सूचना आदानप्रदान गर्ने व्यवस्था मिलाइएको छ ।
जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणका लागि उद्धार टोलीदेखि आवश्यक उपकरण तयारी अवस्थामा राखिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी एवं समितिका संयोजक श्रवणकुमार पोखरेलले सम्भावित विपद्को अवस्थालाई मध्यनजर गर्दै स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको बताउनुभयो ।
बबइ नदीको तटीय क्षेत्रमा सचेतना
दाङको तुलसीपुर उपमहानगरपालिकाले बबइ नदी तटीय क्षेत्रका नागरिकलाई सचेत गराएको छ । लगातार वर्षा हुँदा नदीको बहाव बढ्न सक्ने भन्दै उपमहानगरपालिकाका कार्यबहाक नगरप्रमुख माधव वली नेतृत्वको टोलीले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो ।
नगर विपद् व्यवस्थापन समितिले नगरस्तरीय आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई २४सै घण्टा सक्रिय रूपमा सञ्चालनमा राख्ने निर्णय गरेको छ । विपद्को समयमा सूचना सङ्कलन, समन्वय र तत्काल सहायताका लागि जनशक्ति, हटलाइन, इन्टरनेट र सञ्चार साधनसहित आपतकालीन केन्द्रलाई २४ घण्टा तयारी अवस्थामा राखिएको छ ।
खोज तथा उद्धारकार्यलाई थप तीव्र र प्रभावकारी बनाउन सुरक्षा निकाय, नगर प्रहरी, स्वास्थ्यकर्मी, प्यारामेडिक्स, रेडक्रस स्वयंसेवक, हेभी इक्विपमेन्ट अपरेटर, एम्बुलेन्स चालक, स्काउट तथा स्थानीय युवा क्लबका प्रतिनिधि समावेश गरी एकीकृत नगर द्रुत प्रतिकार्य टोली गठन गरिएको छ ।
नदी तथा खोलाहरूको उच्च जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने र मोबाइल एसएमएस, सामाजिक सञ्जाल तथा माइकिङमार्फत पूर्वसूचना प्रवाह गरिनेछ ।
प्रभावित नागरिकलाई स्थानान्तरण गर्न खाली सार्वजनिक स्थान, विद्यालय र सामुदायिक भवनलाई न्यूनतम सुविधासहित अस्थायी आश्रयस्थलका रूपमा तयारी अवस्थामा राखिने छ । त्रिपाल, कम्बल, म्याट, खाद्यान्न र उद्धारका उपकरण खरिद तथा भण्डारण गरी नगरस्तरीय विपद् व्यवस्थापन कोषबाट बजेट परिचालन गरिने उपमहानगरपालिकाले जनाएको छ ।
कालीगण्डकी नदी किनारमा सतर्कता
बागलुङको कालीगण्डकी नदी तटीय क्षेत्रका १४० घर बाढी पहिरोको उच्च जोखिममा रहेको पाइएको छ । नदीकिनारको जैमिनी र बागलुङ नगरपालिकाका घर तथा व्यवसाय बाढी तथा पहिरोको उच्च जोखिममा परेकाले सचेतना अपनाउन जिल्ला प्रशासन कार्यालय बागलुङले आग्रह गरेको छ ।
बागलुङ नगरपालिकाका १११ घर तथा व्यवसाय र जैमिनी नगरपालिकाका २९ परिवारलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । बागलुङ नगरपालिकाको निरयघाट, माझीबस्ती, मालढुङ्गा, ढोडेनी, दब्ल्याङ, कालाखोला, भाटेखोला, तैवे, नयाँपुल, देवलवगर र वोर उच्च जोखिममा रहेको छ ।
प्रशासनले वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, आकस्मिक बाढी, पहिरो, डुबान तथा नदीकिनारमा कटानको जोखिम बढ्ने भन्दै सर्वसाधारणलाई सावधानी अपनाउन अनुरोध गरेको हो ।
बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जैमिनी नगरपालिकाको जैमिनीघाट, बेलबगर र बाँजाखेतका २९ परिवारका २९० जना जोखिममा रहेको बताउनुभयो । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसमी बुलेटिनमा गण्डकी प्रदेशका केही स्थानमा यही असोज ११ गतेसम्म अतिभारीदेखि भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।
बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बाढी र पहिरो चट्याङ र हुरीबतासबाट जोगिन सुरक्षित स्थानमा रहन आग्रह गर्नुभएको छ । उहाँले आज बागलुङ नगरपालिकाका विद्यालय बन्द गर्ने निर्णय गरिएको भन्दै अतिआवश्यक नपरे घरबाहिर ननिस्कन सबैलाई आग्रह गर्नुभएको राससले जनाएको छ ।






