जानकी मन्दिरमा १०१ कोसेली अर्पण

  ५ घण्टा अगाडि

महेन्द्रनगर (धनुषा), २१ असोज : कोजाग्रत पूर्णिमाका अवसरमा आज जनकपुरधामस्थित जानकी मन्दिरमा १०१ कोसेली (भार) ल्याइएको छ ।

महोत्तरीको रतौली गाउँबाट जानकी मन्दिरमा परम्परागत रूपमा ल्याइने १०१ कोसेली यसवर्ष पनि अर्पण गरिएको हो । सयौँ वर्षदेखि निरन्तर चलिआएको यस धार्मिक परम्पराअनुसार, आज पनि रतौलीवासीले विविध पूजा सामग्रीसहितको भार मन्दिर ल्याइएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामारोशन दास वैष्णवले बताउनुभयो ।

कोजाग्रत पूर्णिमा हिन्दू धर्ममा विशेष महत्व राख्ने रात हो । धार्मिक विश्वासअनुसार, आज राति देवी लक्ष्मीले जाग्राम बसेका भक्तजनलाई धन र समृद्धिको वर्षा गर्छिन् । त्यसैले यो रातलाई ‘अमृत वर्षा’ रातका रूपमा लिने गरिन्छ ।

रतौलीबाट ल्याइएको भार जानकी मन्दिरको विशेष पूजामा समर्पित गरिन्छ । जुन जानकी र रामप्रति भक्तिको प्रतीकका रुपमा लिइन्छ । यस परम्पराले मिथिला क्षेत्रको सांस्कृतिक र धार्मिक ऐक्यबद्धतालाई मजबुत बनाउँदै आएको पण्डित कुशेश्वर उपाध्यायले बताउनुभयो ।

रतौलीका स्व महेन्द्रप्रसाद ठाकुरको घरबाट मन्दिरमा ल्याइएको भारबाटै भगवान सीतारामको चुमाओन गर्ने परम्परा छ । भारमा पान, मखान, लड्डु, खाजा, चामल, दाल तरकारी, भगवान् राम र माता जानकीको कपडा ल्याइन्छ । सो परम्परा सयौँ सालदेखि चल्दै आएको छ ।

भारमा पान, मखन, फलफूल, दही, मिठाइ, सौँफ, मुमफली अनिवार्य हुन्छ भने बेहुलासहित उनको परिवारका हरेक महिला सदस्यका लागि कपडा लग्नुपर्ने हुन्छ । बेहुलीको घरबाट बेहुलाको घरमा भार आएपछि बेहुलालाई चुमाउने गरिन्छ । अर्थात् चुमाओन गरिन्छ । पुरोहितले मन्त्रोच्चारण गर्दै बेहुलालाई चुमाएपछि ठूलाबडाले आशीर्वाद दिने गर्छन् । यस दिन बेहुलालाई मिथिलाको पाग लगाइ ससुरालीबाट आउने कपडा पहिराउने गरिन्छ ।

बेहुलीकै घरबाट आउने डाला, धान, अक्षता, दही, केराजस्ता पूजा सामग्रीबाट बेहुलालाई चुमाउने गरिन्छ । बेहुलाको टाउकोदेखि खुट्टासम्म पाँच प्रमुख स्थानलाई चुमाउने चलन छ । चुमाओन गरिनु भनेको एक किसिमको आशीर्वाद दिनु हो । चुमाओन विधि सकिएपछि सामूहिक रूपमा भोजजस्तै खानपिनको आयोजना गरिन्छ । क्षमता हुनेले ठूलो भोजकै आयोजना गर्छन् । यस अवसरमा मिठाइ, मखन, पान बाँड्नैपर्ने हुन्छ ।

खानपिनपछि कौडासहित पचिसी खेल्ने चलन छ । आठ कौडीहरू र सोह्र गोटीद्वारा पासाका चौँसट्ठी बेहुला र बेहुलीका दाजु वा भाइबीच खेलिन्छ । बेहुली पक्षबाट यस दिन भारका साथै अन्य सामान दिने चलन छ । आभूषण, औँठी, छाता, घडी पनि बेहुला पक्षलाई बेहुली पक्षले दिनुपर्ने हुन्छ । यसदिन छोरीको विवाह गर्दा प्रतिबद्धता गरेअनुसार बाँकी दाइजो दिने चलन छ । यसदिन बेहुली पक्षबाट कम्तीमा पाँच देखि ११ वा १५ जनासम्म भार लिएर आउने गर्छन् । क्षमता हुनेले सय वटासम्म र नहुनेले कम्तीमा ११ वटासम्म भार पठाउनुपर्ने हुन्छ ।

छोरीको विवाह भएर बिदाइ गर्ने बेलामा दिइने कोसेलीझैँ कोजगरा पर्वमा कोसेली दिने गरिन्छ । मिथिला संस्कृतिअनुसार यसअघि मधुश्रावणीका दिन बेहुलाको घरबाट बेहुलीको घरमा भार पु-याउनुपर्ने हुन्छ ।

जानकी मन्दिरमा महोत्सव

कोजाग्रत पूर्णिमाका दिन जनकपुरधामको प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा विशेष महोत्सवको आयोजना गरिएको छ ।

कोजाग्रत पूर्णिमालाई भव्य बनाउन जानकी मन्दिरमा भजन कीर्तनको आयोजना गरिन्छ । प्रत्येक वर्ष उत्सवका बेला हाँस्यपरिहास आयोजना हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताउनुभयो ।

महोत्सवलाई आकर्षक बनाउन मन्दिरमा भजन कीर्तन आयोजना गरिन्छ । महन्थ वैष्णवकाअनुसार मिथिलानीले आफ्नो ज्वाइँका लागि पनि भार पठाउने गर्छन् । यो परम्परा विगत ११५ वर्षदेखि चल्दै आएको बताइन्छ ।
रासस

तपाईको प्रतिक्रिया