दसैँको दक्षिणालाई सिर्जनात्मक काममा सदुपयोग गर्दै टीकापुरका बालबालिका

  ९ घण्टा अगाडि

टीकापुर (कैलाली), २१ असोज : कैलालीका अविन शर्माले यस वर्ष दसैँमा मान्यजनबाट टीका लगाएर दक्षिणा दुई हजार ५० प्राप्त गर्नुभएको छ । कक्षा ७ मा अध्ययनरत उहाँले सो रकमलाई अध्ययनका लागि आवश्यक कापी, कलम, चित्र बनाउन आवश्यक ‘कलर’ र रङ्गीन पेरपर किन्ने तयारीमा रहेको जानकारी दिनुभयो ।

‘‘विगतमा दसैँको दक्षिणा मनपरेको खानेकुरा खाने, बचेको रकम खुत्रुकेमा राख्ने गर्दथेँ’’, उहाँले भन्नुभयो, ‘‘यस वर्ष पढाइका लागि आवश्यक सामान किन्छु । अनावश्यक खर्च नगर्ने योजना बनाएको छु ।’’

किशोरी नेहा उपाध्याय पनि दसैँको दक्षिणा आफूलाई आवश्यक भएको सामान किन्नमा खर्च गर्ने बताउनुहुन्छ । कक्षा ११ मा अध्ययनरत उहाँलाई रकम बचतको महत्वबारे राम्रो ज्ञान छ । ‘‘यो बेला म मात्र होइन मेरो भाइबहिनीको हातमा पनि पैँसा छ, कक्षाकोठामा शिक्षकले दक्षिणा बचतबारे सिकाउनु भएको थियो’’, उहाँले भन्नुभयो, ‘‘मैले घर गएर भाइबहिनीलाई बचत गर्नुपर्छ भनी सिकाएकी छु । यसपटक मसँग पढाइका लागि अत्यावश्यक सामान किन्ने तयारी छ ।’’

दसैँका समयमा अधिकांश बालबालिकाको हातमा सुकिला नोट हुन्छन् । मान्यजनबाट दक्षिणामा पाएको रकम कतिपय बालबालिकाले अनावश्यक खर्च गर्छन् भने केहीले मात्रै उपयोगी काममा खर्च गरेको देखिन्छ । कक्षा ५ मा अध्ययनरत स्मीता धामीले पनि यस वर्षको दसैँको दक्षिणा चित्रकलाका सामान खरिदमा खर्च गर्ने योजना बनाउनुभएको छ । चार महिनादेखि चित्रकला तथा नृत्य सिकिरहेकी उहाँलाई आवश्यक सामग्री किन्नुपर्छ भन्ने लागेको छ । ‘चित्रकलामा रुची छ, केही समयदेखि सिकिरहेकी छु’’, उहाँले भन्नुभयो, ‘‘बुवाआमालाई आर्थिक भार पार्नुभन्दा यसपटक आफ्नै रकमले किन्छु ।’’

दसँैमा प्राप्त गरेको दक्षिणा अनावश्यक खर्च गर्ने, वनभोज तथा घुमघाममा खर्च गर्ने चलन छ । यसरी अनावश्यक काममा तथा घुमघाममा खर्च गर्नुभन्दा आवश्यक सामान खरिदमा खर्च गर्दा रकमको सही सदुपयोग हुन्छ ।

अर्का विद्यार्थी राकेश विकले भने यस वर्ष दसैँको दक्षिणा आमालाई थन्क्याउन दिनुभएको छ । ‘‘तिहार आउँदैछ, तिहारमा बहिनीहरुलाई दक्षिणा दिन काम लाग्छ, आफ्नै रकमले दक्षिणा दिनुपर्ला’’, उहाँले भन्नुभयो, ‘‘विगतमा दक्षिणा दिन आमासँग मागेर दिन्थे, यसपटक आफ्नै रकम आमालाई राखिदिनुस् भनेको छु । त्यही रकम सदुपयोग गर्नेछु ।’’

हरेक वर्ष बडादसैँलगायत चाडपर्वमा प्रायः सबैजसो विद्यालयमा करिब एक महिना लामो बिदा हुन्छ । कतिपयले घरायसी काम, घुमफिर र रमाइलो काममै बिदा गुजार्ने गर्छन् । शिक्षकहरू भने चाडपर्वको समय अनावश्यक काममा खेर फाल्नुभन्दा सिर्जनात्मक काममा प्रयोग गरेर बिताउँदा राम्रो हुने बताउँछन् । यसका लागि अभिभावकले नै वातावरण बनाइदिनुपर्ने शिक्षक टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले बताउनुभयो । ‘‘एक महिना बिदा सिर्जनात्मक र नयाँ सिकाइका लागि प्रयोग गर्नु उपयुक्त हुन्छ’’, उहाँले भन्नुभयो, ‘‘विद्यालयमा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने समय हो यो । त्यसैले अभिभावकले नै आफ्ना बालबालिकालाई चाडपर्वमा पाएको दक्षिणा राम्रो काममा खर्च, बचत गर्ने बानीको विकास, पैसाको महत्व बुझाउने र सदुपयोग गर्न सिकाउनुपर्छ ।’’

उहाँ लामो बिदालाई खेर नफाली अभिभावक र बालबालिकाले रमाइलो वातावरणमा व्यावहारिक सीप सिकाउन प्रयोग गर्नुपर्ने सुझाव दिनुहुन्छ ।
रासस

तपाईको प्रतिक्रिया