गण्डकी प्रदेशसभा बैठक कृषि मन्त्रालयको सभाकक्षमा बस्ने

  ५ घण्टा अगाडि

गण्डकी, २० असोज :‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा भवन क्षतिग्रस्त बनेपछि स्थगित भएको प्रदेशसभा बैठक आगामी बुधबार दिउँसो १ बजे कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाकक्षमा बस्ने भएको छ ।

पुनःप्रयोगमा ल्याउन नमिल्ने गरी प्रदेशसभा भवनलगायतका संरचनामा क्षति पुगेकाले प्रदेशसभा बैठक सञ्चालनका लागि कृषि मन्त्रालयको भवनमा वैकल्पिक व्यवस्था गरिएको सभामुख कृष्णप्रसाद धितालले बताउनुभयो ।

“तत्कालका लागि बैठक बस्न अस्थायी प्रबन्ध गरिएको हो, अहिलेको बैठक तीन दिन मात्र चल्छ, बर्खे अधिवेशन सकिएपछि अन्य व्यवस्था गरिन्छ”, उहाँले भन्नुभयो । बैठकमा गाँजा खेती, खानी तथा खनिज सम्बन्धी विधेयकबारे दफाबार छलफल र पारित गर्ने कार्यसूचि रहेको सभामुख धितालले जानकारी दिनुभयो ।

गत भदौ २५ गते प्रदेशसभा बैठक डाकिएकामा त्यसको अघिल्लो दिन भदौ २४ गते ‘जेनजी’ प्रदर्शनकारीले प्रदेशसभा भवनमा तोडफोड र आगजनी गरेका थिए । त्यसपछि उत्पन्न विषम परिस्थितिका कारण प्रदेशसभा बैठक अनश्चितकालसम्मका लागि स्थगित गरिएको थियो ।

प्रदेशसभाको नयाँ भवन निर्माण सुरु गरिएकाले उक्त भवन नबनेसम्म अस्थायी संरचनाबाट प्रदेशसभाका कामकारबाही सञ्चालन हुने प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा भवन काठ र ढुङ्गाबाट बनेको पुरानो शैलीको संरचना भएकाले आगलागीबाट पूर्ण रूपमा क्षति भएको थियो ।
रासस

तपाईको प्रतिक्रिया