पोखरा, १९ असोज : बाढीपहिरो र सडक अवरुद्ध हुँदा पोखरामा अलपत्र परेका पर्यटकलाई व्यवसायीले निःशुल्क खाना र बस्ने सुविधा उपलब्ध गराउने भएका छन् ।
होटल सङ्घ पोखराले पोखरा र वरपरका क्षेत्रमा समस्यामा परेका पर्यटकका लागि निःशुल्क खाना र बस्ने सुविधा उपलब्ध गराउने घोषणा गरेको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो ।
उहाँले विपत्तिमा केही पर्यटक अलपत्र परेको भन्ने खबर पाएसँगै तत्काल राहत उपलब्ध गराउने उद्देश्यले यस्तो निर्णय गरिएको बताउनुभयो । “असहज परिस्थितिमा सामाजिक उत्तरदायित्व बहन गर्दै होटल सङ्घले यस्तो निर्णय गरेको हो । यसले पर्यटकको सुरक्षा र सहजतामा सहयोग पुग्ने विश्वास छ”, सुवेदीले भन्नुभयो ।
हाल पोखरा भ्रमणमा रहेका अन्य पर्यटकलाई पनि होटलको प्रचलित दरमा २५ प्रतिशत छुट उपलब्ध गराउने घोषणा गरिएको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै बाढीपहिरो र प्राकृतिक विपत्तिमा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको उद्धार र निःशुल्क उपचारमा सरकारको ध्यानाकर्षणसमेत गराइएको राससमा उल्लेख छ ।