पहिरो पन्छाएर सडक यातायात एकतर्फी खुला गर्ने प्रशासनको निर्णय

  ५ घण्टा अगाडि

काठमाडौँ, १९ असोज : जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी आवागमन एकतर्फी रुपले खुला गर्ने निर्णय गरेको छ । प्रशासनले सूचना जारी गर्दै विभिन्न ठाउँमा पहिरो पन्छाएर एकतर्फीरुपमा सवारी सञ्चालनको तयारी भइरहेकाले धादिङ, चितवन, मकवानपुर र नुवाकोट प्रशासनको सूचनाका आधारमा ती जिल्लामा आवागमन एकतर्फी रूपमा खुला गर्ने निर्णय गरेको हो । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंकी प्रशासकीय अधिकृत सुजनकुमारी बर्देवाले मौसममा क्रमिक सुधार हुँदै गएपछि सडकमा यात्रुको चापलाई दृष्टिगत गर्दै उक्त सडकमा आवागमन एकतर्फी रुपमा खुला गर्ने निर्णय गरेको जानकारी दिनुभयो । 

सवारी चलाउँदा सडकमा खटिएका सुरक्षाकर्मीको निर्देशन एवं ट्राफिक इसारा, सङ्केत र सूचनालाई गम्भीरतापूर्वक लिई सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं अनुरोध गरेको छ । 

दुई दिनदेखि परेको अविरल वर्षाका कारण काठमाडौँबाट पृथ्वी राजमार्ग हुँदै बाहिरिने सवारी साधन, काठमाडौँबाट नुवाकोटतर्फ जाने सवारीसाधन र काठमाडौँ दक्षिणकाली हुँदै हेटौंडातर्फ जाने सवारी साधानलाई पूर्णरुपमा बन्द गरिएको गोरखापत्र अनलाइनमा उल्लेख छ । 

तपाईको प्रतिक्रिया