गोरखा दरबारको दसैँघरमा फूलपाती भित्र्याइयो

  ४ घण्टा अगाडि

गोरखा १३ असोज : गोरखा दरबारस्थित दसैँघरमा परम्पराअनुसार आज विधिपूर्वक फूलपाती भित्र्याइएको छ । बडादसैँको सातौँ दिन फूलपातीको अवसरमा दरबारमा साँझको शुभसाइतमा हर्षबढाइँका साथ फूलपाती भित्र्याइएको गोरखाकाली मन्दिरका मुख्य पुरोहित शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

तल्लोकोटस्थित फूलपाती चौताराबाट लगिएको फूलपाती दरबारको दसैँघरमा भित्र्याइएको उहाँले बताउनुभयो । मुख्य पुरोहित भट्टराईले भन्नुभयो, “गोरखा दरबारबाट निस्किएको बाजागाँजा र झाँकीसहितको टोलीले हर्षउल्लासका साथ फूलपाती दसैँघरमा पु¥याएको हो ।”

फूलपातीका दिन गोरखा दरबारमा रवानबाट पश्चिम क्षेत्रमा देखिने डाँडामा आधा घाम तल र आधा घाममाथि देखिने समयमा फूलपाती भित्र्याउने चलन छ ।

यसअघि रातिको समयमा फूलपाती लिन फूलपाती चौतारामा दरबारका सुसारे, नेपाली सेना, नेपाल प्रहरी, सरकारी कर्मचारी तथा स्थानीयवासीको टोली लावालस्करसहित तत्ललोकोटमा रहेको पिपल डाँडा पुगेका थिए ।

गए राति जङ्गलबाट ल्याएको दारिक, बेलको पात, उखुको बोट, केराको पात, अदुवाको बोट र मौसमी फलफूललाई फूलपातीको रूपमा परम्पराअनुसार दसैँघरमा भित्र्याइएको मुख्य पुरोहित भट्टराईले बताउनुभयो ।

दरबारमा फूलपाती भित्र्याउनुअघि गोरखा दरबारदेखि मङ्गलिनीहरूले मङ्गलगीत तथा मालश्री राग गाउँदै हर्षबढाइँ गर्दै र भारवाहकहरू फूलपाती पर्सने सिँढीसम्म पुगेका थिए । गोरखा दरबारको सिँढीमा विशेष पूजा गरेर दरबारमा फूलपाती भित्र्याइएको मूल पुरोहित भट्टराईले जानकारी दिनुभयो ।

यसअघि आज बिहान गोरखा दरबारको दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका फूलपाती पठाइएको थियो ।

तपाईको प्रतिक्रिया